तुलसीपुर,असार २१ । तुलसीपुर–७ की सिता विक मंगलवार बिहान प्रर्सेनीदेखि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा जान अटो रिक्सा चढिन । उनले सुरुमा भाडा सोध्दा चालकले ५० रुपैंया भाडा लाग्ने कुरा गरे ।
अस्पताल ओर्लेर भाडा दिन खोज्दा चालकले एक सय रुपैंया मागे । चालकले पहिले भनेको भन्दा बढी भाडा मागेपछि सिता अक्कन बक्क परिन । चालकले एक रुपैंया नभइ नहुने अडान लिए । बिरामी अवस्थाकी सीताले धेरै बहस गरिनन् । भनेजति भाडा दिएर उपचारका लागि गइन ।
तुलसीपुर उपमहानगरपालिकाले प्रर्सेनीदेखि तुलसीपुर बजारसम्म आएको ४५ रुपैंया मात्रै अटोको भाडादर निर्धारण गरिदिएको छ ।
त्यस्तै घटना दंगीशरण –३ हेकुलीका रामप्रसाद चौधरीपनि मंगलवार भोग्नु प¥यो । घरायसी सामान किनमेलका लागि तुलसीपुर बजार आउन उनी अटो चढेका थिए । दंगीशरणदेखि तुलसीपुर अघिपछि पनि अटोबाट ओहोर दोहोर गरिरहन्थे ।
त्यसैले उनले अटो चढ्दा भाडा कति भनेर सोधनन् । अघिपछि उनले तुलसीपुरसम्म आएको ७० रुपैया मात्र दिने गरेका थिए । तुलसीपुर बसपार्कदेखि हेकुलीसम्मको भाडा ७० रुपैया मात्रै नगरले निर्धारण गरेको छ ।
अटो चालकले यो बीचमा पेट्रोल घटेपनि तुलसीपुरसम्मको भाडा एक सय ५० रुपैंया मागे । अटोमा अन्य यात्रुपनि सवार थिए । चालकको कुरा सुनेर सबै जना अछक्क परे । आँफुहरु सवार ठाउँसम्मको भाडा तिरेर सबै जना अटोबाट ओर्लिए । सबै जना अर्को अटोमा चढेर बजार आएको चौधरीले बताए ।
यी उदाहरणका पात्र मात्र हुन । यसरी दैनिक यात्रुहरु ठगिने क्रम रोकिएको छैन । कतिपय सर्वसाधारण अटो चढ्नै डराउने गर्छन । सानो तथा छोटो दुरीको लागि उपयुक्त मानिने अटो रिक्सा संचालन हुनु यात्रु सुबिधाको हिसाले ठिक हो । तर सेवा भन्दापनि अटोहरुमा मनपरी भाडा असुल्ने क्रम नरोकिदा सर्वसाधारण माथि खुलेयाम ठगी भइ रहेको यात्रु लक्ष्मी रानाले बताइन ।
अटो चालकहरुले मनपरी भाडा असुल्न थालेपछि यात्रुहरु मर्कामा परेको उनले तर्क गरिन । नियमनकारी निकायको यस तर्फ ध्यान पुगेको छैन । अटो चालकहरुले पेट्रोलियम पदार्थको मूल्य बढेको बहाना गर्दै तुलसीपुर उपमहानगरपालिकाले निर्धारण गरिदिएको भन्दा दोब्बर भाडा लिने गरेको गुनासो उनले गरिन ।
अव्यवस्थित रूपमा अटो संचालित हुँदा भाडामा असमानता देखिएपछि उपमहानगरपालिकाले सम्बन्धित अटो व्यवसायीसंगको सहमतिमा तुलसीपुरका विभिन्न स्थानलाई केन्द्र मानेर रुट अनुसार २०७८ साल फागुन महिनादेखि भाडादर निर्धारण गरेको थियो ।
प्रत्येक प्रालिका कार्यालय र वडाहरुमा निर्धारण गरिएस्को भाडादर लागु गर्न पत्राचार भएपनि अटोचालकले त्यसलाई कार्यन्वयन गरेका छैनन् । उपमहानगरपालिकामा हालसम्म पाँच वटा अटो प्रालि दर्ता प्रक्रियामा आएका छन । झण्डै १३ सय बढी अटो रिक्साहरु सञ्चालनमा छन् ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख रेखा शर्माले पछिल्लो केही महिनामा २/३ वटा नयाँ प्रालिहरु खुलेको जानकारी प्राप्त भएपनि उनीहरु दर्ता प्रक्रियामो आइ नसकेको जानकारी दिइन । अटो रिक्साका बीचमा हुने अस्थ्य प्रतिपर्धाका कारण सवारी दुर्घटना बढेको तुलसीपुर यातयात प्रालिका अध्यक्ष पवन बुढाथोकीले बताए ।
‘अटोरिक्साको चाप अत्याधिक बढेपछि सडक नै अस्तव्यस्त देखिने गरेको छ,’ उनले भने । लाइसेन्स बिना,समितिमा दर्ता नगरि सवारी सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढेको बुढाथोकीको भनाई छ ।
दर्ता बिना सञ्चालनमा आएका अटोरिक्सालाई दर्ता प्रक्रियामा लैजाने र भाडादर निर्धारण गर्ने जिम्मा सम्बन्धी नगरपालिका,गाउँपालिकाले लिएको हुदाँ त्यसलाई गम्भिरताका साथ लिन कसैले ध्यान दिएको उनले बताए ।
सडमा सवारीको चापले गर्दा दुर्घटनाको दर पनि बढिरहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका सुचना अधिकारी मधुसुधन न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनासम्म तुलसीपुर क्षेत्रमा ६२ वटा अटोरिक्सा दुर्घटना भएका छन् ।
तीव्र गतिमा अटो चलाउँदा दुर्घटना बढिरहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । तर, अटो चालकहरुले यात्रुहरुबाट बढी भाडा असुलेको भनेर हालसम्म एउटापनि उजुरी दर्ता नभएको न्यौंपानेले बताए । यात्रुको गुनासो आए आँफुरु सरोकारवालाहरुसंग सहजताको लागि छलफल चलाउन तयार रहेको उनले बताए ।