तुलसीपुर,असार १९ । बिजौरी उद्योग वाणिज्य सघंले नेपाल विद्युत प्राधिकरण र तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मा रहेको सामुदायीक संस्था स्वर्गद्धारी विद्युत प्रालि बिच भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता हालै समाप्त भएको निर्णय प्रति गम्भिर ध्यानाकषर्ण जनाएको छ ।
सघंले मंगलवार जिल्ला प्रसासन कार्यालय घोराही,नेपाल विद्युत प्राधिकरण घोराही र विद्युत प्राधिकरण तुलसीपुरमा पुगी ध्यानाकर्षण पत्र समेत बुझाएको छ । 
तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ देखि १९ नं.वडा सम्मको यस ग्रामिण क्षेत्रमा न्युन आर्थिक अवस्था भएका र विद्युत खपत कम गर्ने अधिकांश जनसंख्या रहेको हुदाँ यस क्षेत्रमा सामुदायीक विद्युत वितरण सेवा सञ्चालन गरिरहेको स्वर्गद्धारी विद्युत कम्पनी प्रा.लिले सरल,छिटो,छरितो र प्रभावकारी सेवा दिइरहेको थियो ।
तर अब देखि सो सेवा वितरण केन्द्रबाट सञ्चालन नहुने भएको हुदाँ एकातिर दुर्गम,ग्रामिण बस्तीबाट उद्योगी,व्यवसायीहरु विद्युत महशुल भुक्तानी गर्न जाँदा आउदाँ समय,श्रम र खर्च बढ्ने भई यस क्षेत्रका उपभोक्ताहरुलाई निकै कठिनाई हुने बिजौरी उद्योग सघंका अध्यक्ष रेश्मीराज खड्का र महासचिव दीपक कुमार बस्नेतले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सघंले सामुदायीक संस्था स्वर्गद्धारी विद्युत कम्पनी प्रा.लिले विद्युत वितरण सेवा दिइरहेको काउन्टरबाट अब उप्रान्त नेपाल विद्युत प्राधिकरणले यथा स्थानबाटै विद्युत महशुल काउन्टर र मर्मत सेवा उपलब्ध गराउने व्यवस्था मिलाइदिन जिल्ला प्रसासन कार्यालय र विद्युत प्राधिकरणलाई अनुरोध समेत गरेको महासचिव दीपक कुमार बस्नेतले जानकारी दिए ।