तुलसीपुर, असार १८ । दाङका अधिकांश ठाउँमा किसानले रोपाइँको तयारी गरिरहँदा चैते धानखेती गरेका किसानका खेतमा भने यतिखेर लहलह धानका बाला झुलेका छन् ।
जिल्लामा चैते र बर्खे गरी दुई पटक धानखेती गर्ने किसानको संख्या थपिदै गएको छ । जस्ले चैते धानखेती गरेका थिए उनीहरु अबको केही दिनमा त्यो भित्राउने तयारीमा जुट्ने छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ३ मुलाबारीका किसानले रोपेको चैतधान भित्र्याउने मनस्थितिका साथ तयारीमा स्थानीय किसान जुटेका छन् । वडा नं. ३ का वडा सदस्य कृष्णबहादुर नेपालीले चैते धान खेतमा पाक्न थालेसँगै किसान हर्षित बनेको र त्यो भित्र्याउने मनस्थितिमा जुटेको जानकारी दिए ।
‘ चैत धान छिठो पाकेर भित्र्याउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा किसान प्रतिक्षारत छन्,’ उनले भने ‘ पाक्न थालेको धान नियाल्दै कति खेर त्यो काटेर भित्याइ बर्खे धान खेतीको लागि खेत तयार गर्ने भन्ने यहाँका किसानलाई चटारो छ ।’ वडा सदस्य नेपालीले पनि आँफुले पाँच रोपनी जग्गामा चैते धानखेती गरेको बाला राम्रै लागेको भन्दै खुसी साटे ।
मुलावारीका किसानले चैतको अन्तिम सातातिर रोपेको धान खेतमा यतिखेर लहलह झुलेको र पाक्न थालिसकेको भएपनि बैशाखमा रोपेको धान असारको अन्तिमसम्म पाक्ने स्थानीय सुजित रोकाले जानकारी दिए । विगतका वर्ष भन्दा यो वर्ष चैते धान राम्रो फलेको मुलाबारीकै अर्का किसान भूमा घर्तीले बताइन ।
चैतको अन्तिम साता धान रोपेकी उनले समयमै धान खेतीसँगै रासायनिक मल र सिंचाइको ब्यबस्था भएका कारण यो बर्ष आफ्नो खेतको उत्पादन राम्रो भएको जानकारी दिइन । उनले यो बर्ष चैत धानको उत्पादन बढ्ने आशा ब्यक्त गरिन ।
केही वर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहन स्वरूप बिउ निशुल्क दिने गरेको थियो । सिंचाइका लागि कुलो मर्मतलगायतमा सहयोगी बन्थ्यो । तर पछिल्लो समय राज्यले दिदै आएको सुविधा रोकिएपछि चैते धान खेती गर्ने किसान बेखुसी छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोला र बंगलाचुली गाउँपालिका वडाहरु ३, ४ र ८ अन्तरगत पर्ने गहतेरा, मुलाबारीलगायतका ठाउँहरुमा चैते धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी पृथ्वीराज लामिछानेले विभिन्न स्थान गरि जिल्लाको करिब दुइ हजार पाँच सय हेक्टरमा चैते धानखेती हुने गरेको जानकारी दिए ।
तर, पछिल्लो सिंचाइ सुविधा र समयमै सहज रुपमा मल पाउन नसक्ने समस्यका कारण चैत धानको खेती घट्दै जान थालेको सरोकारवालाहरु बताउँछन् ।
