तुलसीपुर,असार १७ । लुम्बिनी प्रदेशसभाको बैठक आइतबार बस्दै छ। बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पेस गरेको बजेटमाथि छलफल हुनेछ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेटमा असन्तुष्टि जनाउँदै आएकोले प्रदेशसभा चल्नेमा भने आशङ्का कायमै छ। नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन।
पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो।
गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए।
प्रकाशित मिति : २०८० असार १७ गते आइतवार