२०८२ माघ ४ गते आइतवार

आज हरिशयनी एकादशी,घर-घरमा तुलसीको बिरुवा सारिदै

काठमाण्डौ,असार १४ । आज हरिशयनी एकादशी । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारिन्छ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य डा देवमणि भट्टराई बताउछन ।

भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ । एक वर्षमा २४ वटा एकादशी पर्छ । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ वटा एकादशी परेको भट्टराईले बताए ।

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकाका बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको चाप छ ।

वैज्ञानिकरुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *