काठमाडौँ,जेठ २३ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतविरुद्ध दुई ठाउँमा उजुरी परेको छ।
आफूलाई मध्यरातमा कलरम्यासेज गरेर टर्चर दिएको भन्दै एक जना पत्रकार महिलाले गत बिहीबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी हुन्।
उक्त उजुरीपछि काउन्सिलका अध्यक्ष बस्नेतले आफ्नो परिवार र कार्यरत संस्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दवाव दिएको बताउँदै ती पत्रकार महिलाले पुनः आइतबार सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा निवेदन दिएकी हुन्।
राजधानी काठमाडौँमा सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारलाई काउन्सिल अध्यक्ष बस्नेतले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी टर्चर दिएको उनको आरोप छ।
साइबर ब्युरोमा दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत् भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटक–पटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाऊँ।’
यता, मन्त्रालयमा दिएको निवेदनमा बस्नेतका क्रियाकलापबाट आफू असुरक्षित भएको उल्लेख गर्दै सुरक्षा माग गरेकी छन्।
साइबर ब्युरोका अनुसार उजुरीमाथि अनुसन्धान भइरहेको छ। बस्नेतविरूद्ध निवेदन परेपछि आफूहरूले बस्नेतलाई सम्पर्क गरेको र फोनमा बस्नेतले आफ्नो फेसबुक ह्याक भएको दाबी गरेको ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिएका छन्।
यस्तै, उनले ह्याक भएको आफ्नो खाताबाट कतिपयसँग पैसासमेत मागिएको समेत दाबी गरेको प्रवक्ता रायले बताए।
उजुरी दिने ती पत्रकार महिलाले भने सामाजिक सञ्जालमार्फत् सुरुमा कल आउँदा फेसबुक आइडी ह्याक भयो कि भन्ने सोंच आफूलाई पनि आएको तर कुराकानी गर्दा बस्नेत नै हो भन्नेमा विश्वस्त भएको बताएकी थिइन्।
यता, बस्नेतले भने फेसबुकमार्फत् आफ्नो फेसबुक अकाउन्ट ह्याक भएको र लामो पहलपछि ह्याकरबाट मुक्त भएको बताएका थिए।
