तुलसीपुर, जेठ २२ । तुलसीपुर उपमहानगरपालिकाको गेटमा पछाडि अक्सिजन सिलिन्डर बोकेर मुखमा त्यसको पाइप जोडिएको विद्यार्थी देखापरे ।
उनीसँग अनुहारमा पेन्ट गरेर प्लाष्टिक प्रयोग बन्द गरौ भन्ने सन्देश कोरिएका हरियो अनुहारका विद्यार्थीपनि थिए ।
केही बिद्यार्थीका अनुहारमा वातावरण जोगाउनु पर्ने सन्देश लेखिएका थिए । विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिकको प्रयोग रोकौं भन्ने सन्देश प्रवाह गर्न विद्यार्थीले विभिन्न चरित्र निभाए ।
केहीले प्लाष्टिकको कपडा लगाएर ‘नो’ लेखेका थिए भने केहीले कागजको कपडा लगाएर ‘एस’ लेखेका थिए ।
तुलसीपुर बहुप्राविधिक शिक्षालयमा वन र कृषि विज्ञान अध्ययनरत विद्यार्थीले प्लाष्टिक प्रयोगको असर बारे विभिन्न सन्देशहरु प्रवाह गरे ।
उनीहरुले प्लाष्टिक वातावरणका लागि सबैभन्दा घातक भएको भन्दै त्यसको प्रयोग कम गर्न अपिल गरेझैं लाग्थ्यो ।
‘प्लाष्टिकजन्य प्रदुषको निर्मुल गरौः वातावरणमैत्री विकल्पको खोजी गरौ’ भन्ने शन्देशसहित मनाइएको ५०औँ विश्व वातावरण दिवसको अवसरमा विद्यार्थीले अन्तक्र्रिया कार्यक्रम पनि गरे ।
प्रमुख अतिथि नगरप्रमुख टिकाराम खड्काले वातावरण संरक्षण आजको मुल मुद्दा बनेको चर्चा गरे ।
‘हाम्रै कारणले वातावरणलाई असर परिरहेको छ अनि हाम्रै जीवन विग्रिरहेको छ ’ उनले भने ‘वातावरण जोगाउने दायित्व सबैको हो भने वातावरण विनाश नै मानव विनाशको कारण हो ।’
कार्यक्रमकी उपप्रमुख स्यानी चौधरीले वातावरण मानव जीवनको आधार भएको भन्दै यसलाई संरक्षण गर्नु सबैको दायित्व भएको बताइन् । उनले स्थानीय सरकार वातावरण संरक्षणको मुद्दामा चिन्तित रहेको जोड दिइन् ।
ग्रिन फाउन्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले विकशित देशहरुले वातावरण विनाश गरेर विश्वलाई नै प्रदुषित वनाउँदै लगेको प्रति चिन्ता व्यक्त गरे ।
वातावरण विनाश रोक्ने मुख्य कारण वृक्षारोपण भएको भन्दै पाण्डेले खाली ठाउँहरुमा विरुवा लगाउनु आवश्यक रहेको जोड दिएका थिए ।
कार्यक्रममा पारिवारीक तथा निजी वन संघ नेपालका उपाध्यक्ष मेघराज भुषाल, डिभिजन वन कार्यालयका जनक वली, वन विज्ञान प्रशिक्षक सचिन सुवेदी लगायतले मन्तव्य राखेका थिए ।
प्रशासन सहायक सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक घनश्याम केसीले गरेका थिए । शिक्षालय प्रमुख वसन्त आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
