२०८३ असोज ५ गते सोमवार

पेटमा बन्दुकको छर्रा लागेका युवकको घोराहीमा उपचार जारी

दाङ, जेठ १७ । पेटमा भरुवा बन्दुकको छर्रा लागेका एक युवकको घोराहीमा उपचार जारी रहेको छ । मंगलबार बिहान १० बजेतिर स्थानीय जंगलमा बाख्रा चराउन गएका घोराही उपमहानगरपालिका वडा नं. ११ का ३१ बर्षीय यमबहादुर बिक पेटमा गोली लागेको अवस्थामा फेला परेका थिए ।

रोल्पा तर्फको जंगलमा बन्दुकको आवाज सुनेको र पछि आँफुलाई पेटमा गोली लागेको कुरा घाइते यमबहादुर आँफैले आफ्ना दाजु सुशिल बिकलाई खबर गरेपछि उनको उद्धार भएको थियो । घर परिवारका सदस्यले दिउँसो मात्रै घाइते बिकलाई घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि पु¥याएका थिए ।

घाइते यमबहादुरलाई नाइटो नजिकबाट बन्दुकको छर्रा लागेर पछाडि ढाडबाट वारपार भएको प्रहरी अधिकारीले बताएका छन् । घटनास्थलमा पुगेको प्रहरी टोलीले सर्च अभियान चलाउँदा बेलुकी पाँच बजेतिर जंगलबाट एउटा भरुवा बन्दुक र त्यो पड्किएको खोका बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिए ।

घाइते यमबहादुरका दाजु सुशिललाई प्रहरीलाई जंगलमा बरामद भएको बन्दुक आफ्नै घरको भएको प्रहरी समक्ष बयान गरेका छन् । घरबाटै बन्दुर लगेर यमबहादुर जंगलमा बाख्रा चराउन गएको हुन सक्ने प्रहरीको आशंका गरेको छ ।

यमबहादुर भिरमा हिड्ने क्रममा बन्दुकसहित लडेर छर्रा लागेको हुन सक्ने वा उनले आँफैले आँफैलाई गोली हानेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घाइतेको उपचार प्रतिष्ठानमा भइरहेकोले यसवारे थप अनुसन्धान पछि हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *