तुलसीपुर,बैशाख १३ । तुलसीपुर उपमहानगरपालिका १६ लाई पाँचौ बालश्रम मुक्त वडा घोषणाको अन्तिम तयारी गरिएको छ ।
वडा भित्र रहेका बालश्रमिकलाई परिवारको जिम्मा लगाएर ती बालबालिकाहरूका लागि आवश्यक पर्ने शैक्षिक सामग्रीका लागि १५ जना बालबालिकालाई ५ हजार हस्तान्तरण गरिएको छ ।
त्यस्तै अति विपन्न बालबालिकाका परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि बिउँ पूँजीका रुपमा दुई जना बालबालिकाको परिवारलाई नगद १५ हजार हस्तान्तरण गरिएको छ ।
उक्त रकमबाट ती बालबालिकाका परिवारले आयआर्जनको क्षेत्रमा प्रयोग गर्नका लागि दिइएको हो
।
वडालाई बालश्रम मुक्त घोषणाका लागि सम्पूर्ण तयारी पूरा गरिएको वडाध्यक्ष शिवानन्द डाँगीले जानकारी दिए ।
हालसम्म तुलसीपुरका १, २, ६ र १८ लाई बालश्रममुक्त घोषणा गरिएको छ, भने १६ लाई घोषणा गर्नका लागि अन्तिम तयारी गरिएको छ ।
यस्तै वडा नं. १७ को समेत मुक्त घोषणाका लागि सम्पूर्ण सूचक अन्तिम तयारी अवस्थामा रहेको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिइन् । नेपाललाई सन् २०३० सम्म बालमैत्री घोषणा गर्ने लक्ष्य राखिएको छ ।
आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित हुने अवस्था आउन नदिन बालबालिकालाई आर्थिक सहयोग हस्तान्तरण गरिएको श्रेष्ठले बताइन् ।
युनिसेफको सहयोगमा उपमहानगरले बालबालिका तथा उनीहरूका घरपरिवारलाई आर्थिक सहयोग गरेको हो । त्यस अवसरमा नगर उपप्रमुख स्यानी चौधरीले पाँच वर्षभित्र नगरलाई समृद्ध बनाउन सबै किसिमको समान विकास आवश्यक रहेको बताइन् ।
नगर समृद्ध हुन सबै बालबालिका शिक्षाको पहुँचमा पुग्नु पर्नेमा जोड दिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले शिक्षा र स्वास्थ्य लगानी कम भएको भन्दै आगामी दिनमा सामाजिक विकासमा लगानी बढाउने प्रतिबद्धता व्यक्त गरे ।
