२०८३ बैशाख १७ गते बिहिवार

दोषीलाई पक्राउ गरी तत्काल कारवार्ही गर्न माग

घोराही,बैशाख ३ । नेकपा एमालेसहित भातृ संगठनले दाङको शान्तिनगर गाउँपालिकामा एसईई दिईरहेकी बालिकामाथि भएको जबरजस्ती करणीको घटनामा संलग्नलाई तत्काल पक्राउ गरि कानुन अनुसार कारवाही गरि पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।

अखिल नेपाल महिला संघ केन्द्रिय कमिटी उपाध्यक्ष मेनका पोख्रेलको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीले दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवार काठमाडौलाई घटनाका बारेमा गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत पेश गरिएको ज्ञापन पत्रमा २०७९ साल चैत्र २० गतेका दिन एसईई दिइरहेकी शान्तिनगर गाउँपालिका वडा नम्बर ६ शिवशक्ति मावि धनौरीमा अध्ययनरत १६ वर्षीया बालिकालाई सोही विद्यालयका शिक्षक खुमानन्द पौडेलद्वारा जबरजस्ती करणी गरेको र हालसम्म पक्राउ समेत नभएकाले दोषीलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पीडितलाई उचित क्षतिपूर्तीको व्यवस्था गर्न जोडदार माग गरेको छ ।

यसैगरी, यसवर्षको खेतीको समय सुरु हुन लाग्दा समेत रासायनिक मलको चरम अभाव देखा परेकाले आम किसानहरुलाई सर्वसुलभ तरिकाले रासायनिक मल उपलब्ध गराउन पनि सम्बन्धित निकायसँग माग गरेको छ ।

दाङ सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक दृष्टिकोणले महत्वपुर्ण एवम् सामरिक जिल्लाका रुपमा चिनिने भए पनि समाजमा रहेको विभेद, अन्याय अत्याचार, शोषण दमन, उत्पीडन, विकृती, विसंगतीको अन्त्य र समतामलुक समाज निर्माण चुनौति रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

समाजको सकारात्मक रुपान्तरणको पक्षमा निरन्तर लागी रहँदा पनि समुन्नत, सुसंस्कृत एवम् कानुनी राज्य निर्माणको कोशिस भईरहँदा समाजले सोचे जस्तो न्याय मुलक सामाजिक वातावरण निर्माण हुन नसेको तथ्यले घटनाहरु हुने गरेको तर्फ ध्यानाकर्षण गराईएको छ ।

दाङमा पछिल्लो समयमा घटेका घटना क्रमले सभ्य समाजलाई कुरुप कलंकित र लज्जीत बनाएको स्मरण गराउँदै यस प्रकारका घटनाक्रमलाई सबैले गम्भिरतापूर्वक नियाल्दै दोषीलाई कानुनको दायरामा ल्याउन पहलकदमी आवश्यक रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी वैद्यले घटनाका विषयमा अनुसन्धानको प्रकृया अघि बढेको र दोषीको खोजी कार्य जारी रहेको जानकारी गराउँदै प्राप्त ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताए ।

ज्ञापन पत्र बुझाउन अनेम संघकी उपाध्यक्ष पाख्रेलसहित नेकपा एमाले केन्द्रिय कमिटी सदस्य दीपा शर्मा, अनेम संघ केन्द्रीय सदस्य तुलसा केसी, नेकपा एमाले जिल्ला कमिटी दाङका सचिव मनोहर बुढाथोकी, अनेमसंघ दाङकी अध्यक्ष हुमा डिसी, उपाध्यक्ष लक्ष्मी शर्मा, अनेम संघकी क्षेत्र संयोजक तुलसा पोख्रेल, सदस्य सरस्वती खत्री, नेकपा एमाले घोराही नगर उपाध्यक्ष तारा पुरीलगायत पुगेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *