घोराही, बैशाख ३ । निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरवार्हीका कारण घोराही उपमहानगरपालिकामा अधिकांश सडकसंगै अन्य निर्माणका योजनाको प्रगति शून्य जस्तै छ ।
उपमहानगरपालिकामा सडक विस्तारसँगै कालोपत्रे गर्ने, भवन तथा नाला निर्माणलगायतका दर्जन बढी योजना पटक ÷ पटक म्यादथप गर्दाापनि ठेकेदारसंगै सम्बन्धित निकायको लापरबाहीका कारण अलपत्र अवस्थामा छन् । जसमा कतिपय योजना संघ, प्रदेश र स्थानीय सरकारका छन् ।
लापरबाही यतिसम्म भएको छ कि, घोराहीको मुख्य बजारमै १२ सय मिटर सडक विस्तारसँगै कालोपत्रे गर्ने काम ६ महिनामा सक्ने गरी सम्झौता भएपनि दुई वर्ष बित्न लाग्दा समेत सडक कालोपत्रे हुनसकेको छैन ।
त्यस्तै उपमहानगरपालकौ भवन निर्माणदेखि वडा नं.१० को नारायणपुर स्वास्थ्यचौकीको भवन निर्माणको जिम्मा पाएको ठेकेदार सम्झौतापछि म्याद सकिन केही महिनामात्रै बाँकी हुँदा पनि सम्पर्कमा आएको छैन ।

घोराही १५ अन्तर्गत भरतपुरदेखि महेन्द्र बहुमुखी क्याम्पस जोड्ने सडक । तस्वीर ः लीलाधर वली
भवन निर्माणको काम अलपत्र
निर्माण व्यवसायीसँगै घोराही उपमहानगरपालिकाको लापरबाहीका कारण अण्डरग्राउण्ड पार्किङ र लिफ्ट सहितको सुविधा सम्पन्न पाँचतले प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । २० करोडको लागतमा भवन निर्माणका ०७८ बैशाख ६ गते टेण्डर आह्वान गरेको थियो । भवनको जिम्मा गौरी–पार्वती÷भुसाल बस्नेत जेभिले पायो ।
ठेक्का सम्झौताअनुसार ०८० बैशाख ३० गतेसम्म भवन निर्माण भइसक्नुपर्ने थियो तर निर्माण व्यवसायीले काम नगरेपछि दुई वर्षयता उपमहानगरको प्रशासनिक जमिन भन्दामाथि उठ्नसकेको छैन ।
भवन निर्माणका लागि खनेको खाडलमा पानी जम्मा भएर पिलर तथा छडमा खिया लागेपछि प्राविधिक परीक्षण गर्नुपरेको छ । भूकम्प प्रतिरोधी घरहरू निर्माणमा प्राविधिक सहयोग गर्दै आएको एनसेटले प्राविधिक जाँच गरेपछि म्याद सकिदन तीन महिना बाँकी रहदा काम सुरु भएको उपमहानगरका इन्जिनियर सन्दीप घिमिरले जानकारी दिए । सम्झौता मितीमा काम सकिने छाँटकाट छैन । बरू निर्माण कम्पनीले हालसम्म साढे ४ करोड बढी भुक्तानी लिइसकेको छ ।
ठेकेदार सम्पर्क विहिन,बनेर स्वास्थ्यचौकी भवन
घोराही उपमहानगर वडा नं. १० को नारायणपुरमा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने भन्दै ०७८ माघमा रोयल बिल्डर्स प्रालिलाई जिम्मा दिइयो । ६४ लाख ४४ हजारको लागतमा ०७९ असार ३० गतेसम्म निर्माण सक्ने गरी जिम्मा पाएको निर्माण कम्पनीले अहिलेसम्म काम सुरु गर्नु त के सम्पर्कमै नआएको इन्जिनियर घिमिरे बताए ।
‘सम्झौता मितिमा कुनै पनि काम हुन सकेन र न त ठेकेदार नै सम्पर्कमा आए’,इन्जिनियर घिमिरेले भने ,‘ठेकेदार सम्पर्कमा नआएपनि सम्झौता मितिसम्म केही गर्न सक्ने अवस्था छैन । सम्झौता मिति सकिएपछि ठेक्का रद्दको प्रक्रिया अघि बढाउने तयारी छ ।’
खैरा–कोठरी सडकखण्ड
घोराही उपमहानगरपालिका वडा नं. ९ र ११ अन्तर्गत पर्ने खैरा–कोठरी सडक कालोपत्रेको काम पनि पूरा हुनसकेको छैन । सडकखण्ड अन्तर्गतको बाँकी रहेको सडक कालोपत्रे गर्न २०७८ माघको ७ गते रोयल बिल्डर्स् प्रालिसँग १ करोड २ लाखमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार करिव ११ सय मिटर सडकको काम आगामी असार महिनाभित्रमा पुरा हुनुपर्ने सर्त छ । तर अहिलेसम्म उक्त सडक कालोपत्रे गर्ने जिम्मा पाएको कम्पनीले काम नै सुरु गरेको छैन ।
१२ सय मिटर सडक, दुई बर्षमा पनि कालोपत्रे भएन
घोराही उपमहानगरपालिकाको मुख्य बजारमा पर्ने नेपाल बंैकदेखि जिल्ला प्रशासन कार्यालयसम्मको १२ सय ४४ मिटरको सडक विस्तारसँगै कालोपत्रे गर्ने काममा पनि ढिलाइ भएको छ । ६ महिनामा सडक विस्तारसँगै कालोपत्रे गर्ने गरी २०७७ माघ ८ गते सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०७८ असार ३१ गतेसम्म सकिनुपर्ने थियो तर अझै सडक कालोपत्रे हुनसकेको छैन । सम्बन्धित निकायको लापरबाहीका कारण ६ महिनामा कालोपत्रे हुनुपर्ने सडक करिब दुई वर्ष पुग्नलाग्दा पनि कालोपत्रे भएको छैन । पछिल्लो पटक थपिएको म्यादपनि चैत ३० गते सकिएको छ ।
सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनले काम गर्न सुरु गरेपनि सम्झौता मितिमा सकिनेमा आंशका रहेको सरोकारवालाहरु बताउँछन । तर, निर्माणकाको जिम्मा पाएको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि कृष्ण वलीले भने सम्झौता अवधिमै काम सक्ने दाबी गरे ।
सडक विस्तारसँगै कालोपत्रेका लागि एक करोड १५ लाख १४ रूपैंया सम्झौता भएको थियो । ‘कामदारको अभावसँगै र प्राविधिक समस्याका कारण काममा ढिलाइ भएको थियोे’, प्रतिनिधि वलीले भन े, ‘कामदारहरू आएर काम गर्न सुरु गरिसकेका छन्, अब सडक निर्माणकै लागि म्याद थप गर्नुपर्ने अवस्था आउँदैन ।’
निर्माण कम्पनीका प्रतिनिधि वलीकाअनुसार सडक कालोपत्रे गर्ने जिम्मा आफ्नो भएपनि नाला र फुटफाथ बनाउने जिम्मा पाएको आत्रेय÷पूर्णचन्द्र÷बस्नेत जेभिले काम नगर्दा काममा ढिलाइ भएको गुनासो गरे । एउटै सडकमा नाला प्रदेश र सडक स्थानीय तहको कामले गर्दा समेत काममा ढिलाइ भएको उनले बताए ।
तुलसीपुर –गुलरियाचोक
घोराही उपमहानगरपालिका भानुचोकदेखि गुलरिया पार्कसम्मको सडक पनि विस्तारसँगै कालोपत्रे गर्ने भनिएपनि विभिन्न समस्या कारण सडक निर्माणको कामले पूर्णता पाउन सकेको छैन । भानुचोकदेखि गुलरिया पार्कसम्मको १९ सय मिटर लामो सडक बजारको मुख्य सडक हो । यो कामपनि निर्माण व्यवसायीकै लापरबाहीका कारण पुरा नभएको हो ।
केही समय अगाडि सडक कालोपत्रे गर्ने काम सुरु भएपनि कालोपत्रे गर्दा सडकको लेबल र गिट्टीको आकार नमिलेको पाइएपछि घोराही उपमहानगरपालिकाले काम रोक्न लगाएको थियो । ल्याव परीक्षणपछि अहिले गिट्टीको आकार घटाएर कालोपत्रे गर्ने काम सुरु गर्ने तयारी गरिएको निर्माण कम्पनीले जनाएको छ ।
घोराहीको भानुचोकदेखि गुलरिया पार्कसम्मको सडक कालोपत्रे गर्ने जिम्मा पुष्पाञ्जली–पिएस जेभी बाँकेले पाएको छ । तर, उस्ले आफैँ काम नगरी पेटी ठेक्काको रूपमा कालोपत्रेको काम वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सनलाई दिएको छ ।
२०७८ फागुन ४ गते करिब साढे २ करोड बढीमा ठेक्का सम्झौता गरिएको थियो । ठेकेदारको लापरबाहीका कारण समयमै काम हुन सकेन । समयमा काम हुन नसकेपछि २०७९ चैत ३० गतेसम्म म्याद थप गरिएको थियो । त्यो अनुरुप काम भने भएको देखिएको छैन ।
खिरटिया हुँदै डाँगीगाउँ जोड्ने सडक
उपमहानगरपालिकाले २०७९ जेठमा असार महिनासम्म खिरटिया–लखवार–खैरानगर–कप्तानचोक–डाँगीगाउँ जोड्ने सडक कालोपत्रे गरिसक्ने गरी उर्जा कृसव जेभीसँग सम्झौता ग¥यो । सम्झौताअनुसार ७० लाख ८६ हजार बजेटमा उक्त निर्माण कम्पनीले एक महिनाको अवधिमा ११ सय मिटर सडक प्रिमिक्स पिच गर्नुपर्ने थियो तर काम हुन नसकेपछि पहिलो पटक ६ महिना म्याद थप गरियो ।
काम कछुवाको गतिमा हुँदा थपिएको समयमा पनि काम नसकिएपछि अहिले दोस्रो पटक म्याद थपका लागि निर्माण कम्पनीले घोराही उपमहानगरपालिकामा निवेदन दिएको इन्जिनियर घिमिरेले बताए । ‘निर्माण व्यवसायीको कामको गति हेर्दा चित्तबुझ्दो छैन’, इन्जिनियर घिमिरेल भने, ‘कालोपत्रे गर्ने सडकमा निर्माण कम्पनीले अहिलेसम्म सडकका विभिन्न खण्डमा ह्याम्पाइप राख्ने काम मात्रै गरेको छ ।’
गोग्ली माविदेखि लक्ष्मीपुर जोड्ने सडक
घोराही उपमहानगरपालिका–४ को गोग्ली मावि–लक्ष्मीपुर जाने बाटो निरन्तरता, पुरानो वडा कार्यालय–नारायणपुर–वनगाउँ जोड्ने बाटो निरन्तरता, बटलपुरदेखि वडा नं.१२ जोड्ने बाटो सडक, वीपी मार्ग–सुर्केडाँगी निरन्तरता, सौँरी थारूगाउँ बाटो निरन्तरता सहित सडक कालोपत्रे प्याकेजका आयोजना ०७८ मा सुरु भएको थियो । सडकको कालोपेत्र गर्ने जिम्मा मस्ट बराह इन्फ्रा स्टक्चर प्रालि काठमाडौंले पाएको थियो ।
एक करोड ३० लाख लागतमा सुरु भएको उक्त सडक कालोपत्रे गर्ने काम अघि बढ्नसकेको छैन । सडकमा ह्युमपाइप हाल्ने बाहेक अरु काम हुन नसकेको घोराही उपमहानगरपालिकाले जनाएको छ । एक वर्षमा सक्ने गरी सम्झौता भए पनि काम कछुवाको गतिमा भइरहेको छ ।
अस्पताल शिलन्यास भयो काम भएन
उपमहानगरपालिका–४ को भकारेमा दुई वर्षभित्र निर्माण सक्ने गरी २०७७ मंसिर १३ गते शिलन्यास भएको १५ शय्याको ‘लक्ष्मीपुर अस्पताल’ निर्माणको काम अझै सुरु हुनसकेको छैन । अस्पतालको शिलन्यास भएको दुई बर्ष बढी समय भैसक्दा पनि काम हुन सकेको छैन ।
भवन निर्माणका लागि शिलन्यास भएको करिब ८ महिनापछि २०७८ असार २८ गते राजेन्द्र निर्माण सेवासँग सम्झौता भएको थियो ।
संघीय सरकारको करिब १० करोड ६६ लाख ४ हजार ९ सय १ रूपैयाँमा लागय स्टिमेट छ । स्थानीय तहबाट भएको अस्पतालको डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले अस्पताल निर्माणको काम ढिलाइ भएको उपमहानगरपालिकाले बताउने गरेको छ ।