सिमकोट ,बैशाख १ । बालविवाह न्यूनीकरण गर्नका लागि पञ्चवर्षीय कार्ययोजना तयार गरिएको छ।
गाउँगाउँमा बालविवाह बढ्दै जान थालेपछि त्यसको रोकथाम र न्यूनीकरण गर्नका लागि गाउँपालिकाको पहलमा रणनीति र कार्ययोजना तयार गरिएको हो।
सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले समाजमा बढ्दै गएको बालविवाहलाई रोकथाम गर्न पञ्चवर्षीय कार्ययोजना तयार गरिएको बताए।
बीस वर्षपारि विवाह गर्नुपर्ने कानुनी व्यवस्था भए पनि त्यो भन्दा कमै उमेरमा विवाह गर्ने चलन चल्दै आएपछि कार्ययोजना तयार गरी कार्यान्वयन गरेर त्यसलाई न्यूनीकरण अभियानमा गाउँपालिका लाग्न थालेको हो।
अब रणनीति, कार्ययोजना र कार्यक्रम तय भएको र यसलाई कार्यान्वयनमा ल्याइनेछ। गाउँपालिकाको आयोजनामा उक्त कार्ययोजना जनप्रतिनिधि, नागरिक समाज, सामाजिक क्षेत्रमा काम गर्ने निकायको सहभागितामा तयार पारिएको हो।
कार्ययोजनामा बालविवाह कानुनी कसुर भएकोबारे जनचेतना फैलाउन सडक नाटक सञ्चालन गर्ने, बालविवाहविरुद्ध भएका कानुनी व्यवस्थाबारे जानकारी गराउने, स्थानीय एफएम रेडियोबाट सन्देश प्रवाह गर्ने, बाबविवाह गरेका घटनालाई कानुनी उपचारसम्म पुर्याउने, बालविवाह गर्न प्रोत्साहन गर्नेविरुद्ध पनि जनचेतना फैलाउने, बीस वर्षमाथि विवाह गर्नेलाई पुरस्कार तथा सम्मान गर्ने व्यवस्था गर्ने, बालविवाह गर्ने जोडीको परिवारलाई गाउँपालिकाबाट जाने सेवा–सुविधा रोक्का गर्ने, प्रत्येक विद्यालयको वार्षिक कार्ययोजनामा बालविवाह विरुद्धका कार्यक्रम समेट्ने, बालविवाहविरुद्ध अविभावकलाई सचेतना प्रदान गर्नेलगायत कुरालाई समेटिएको छ। यो कार्ययोजनालाई वडा–वडामा लगेर कार्यान्वयन गरिनेछ।
कार्ययोजना र बालविवाहविरुद्धका कार्यक्रम वडाले पनि सञ्चालन गर्नेछ।
सिमकोट गाउँपालिका पाँच वर्षभित्र बालविवाहमुक्त घोषणा गर्ने कार्यक्रम कार्ययोजनामा समेटिएको छ। यसका लागि युुनिसेफ नेपालले आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्नेछ।