तुलसीपुर चैत २३ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ ले प्रत्येक टोलमा विषादी छर्कनका लागि विद्युतीय स्प्रे वितरण गरेको छ । वडा नम्बर २ को २१ वटा टोलमा प्रत्येक टोलका लागि एक ÷एक वटा स्प्रे वितरण गरिएको हो ।
वडा नम्बर २ले आर्थिक वर्ष २०७९÷८०को बजेटमा किसानहरुलाई विद्युतीय स्प्रेको वितरणका लागि व्यवस्था गरिएको वडाध्यक्ष भीमबहादुर योगीले जानकारी दिए ।
उनले कृषिजन्य वस्तुकोल उत्पादनमा रोग किरा नियन्त्रणका लागि विद्युतीय स्प्रे वितरण गरिएको बताए । विद्युतीय स्प्रे वितरण कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले आगामी वर्षदेखि कृषि क्षेत्रको बजेट बढाउँदै लैजाने बताए ।
उनले कृषि क्षेत्रको यान्त्रीकरणमा पालिकाले विशेष जोड दिदै आएको बताए । नगरप्रमुख खड्काले भारतीय कृषिजन्य वस्तुलाई नियन्त्रण गर्दै नेपाली किसानले उत्पादन गरेका बस्तुको बजारीकरणमा पालिकाले विशेष जोड दिदै आएको बताए ।
उनले पालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि तरकारी बजार क्षेत्रमा निर्माण गरेको र प्रत्येक क्षेत्रमा हाट बजारको व्यवस्थापन गर्न थालेको बताए । उनले तीन वटै तहका सरकारको समन्वयबाट किसानलाई रातहका कार्यक्रम अघि बढाउन सकिने बताए ।
तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका पूर्व प्रमुख तिलकबहादुर वलीले किसानले बिउँ बाली फेर्दा समेत २० प्रतिशत उत्पादन बढ्ने बताए । उनले किसानले मापदण्डबमोजिम कृषिकर्म गर्दा उत्पादन बढ्ने बताए ।