नरैनापुर, चैत्र २३ । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ ।
बुधबार एक समारोहका बीच नम्बर ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक राष्ट्रले सुम्पेको अन्य जिम्मेवारिमापनि तल्लिन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए ।
मुलुकको भूमि एक इन्चपनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशिल भइ काम गर्ने उनले बताए ।
नागरिकको सुरक्षाका लागि सुरुमा सुरक्षाकर्मीलाई बलियो बनाउनुपर्ने भन्दै उनले नरैनापुरमा बोर्डर आउट पोष्टको स्थापना गरिएको बताएका थिए ।
सीमा सुरक्षाका लागि सबैको भूमिका महत्वपूर्ण रहने भन्दै बाहिनीपति खड्काले सीमा सुरक्षा गर्ने जिम्मेवारी सुरक्षाकर्मीको मात्रै नभएर समग्र नागरिकको हुनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नरैनापुर गाँउापालिकाका अध्यक्ष शाहले सशस्त्र द्वन्द्वको विषम परिस्थितिमा स्थापना भएको सशस्त्र प्रहरीले मुलुकको शान्ति सुरक्षामा महत्ववपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।
विपद्का वेला उद्धार, संक्रामक रोग नियन्त्रणमा पनि सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको हुँदा भविश्यमा पनि त्यसको निरन्तरताको लागि आग्रह गरेका थिए ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीले डिउटीले सुरु गरेपछि चोरी तस्करी कम भएको उनले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोर, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक मोहन कुवर, नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल लगाएतले कार्यक्रममा धारणाहरु राखेका थिए ।