दाङ, चैत २२ । बाँकेको बहुचर्चित राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना बारेको बिबाद मंगलबार सर्बौच्चमा पुगेको छ ।
भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाउँदै सर्वौच्चमा पुगेको हो । अख्तियार मुद्दा पुनरावेदनको मागसहित सर्बौच्च पुगेको हो ।
यसअिघ २०७५ मंसिर २१ मा अख्तियारले आरोपितविरुद्ध ८ अर्ब ५९ करोड ८८ लाख ३१ हजार बिगो, त्यति नै जरिवाना र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्व मन्त्री विक्रम पाण्डेसहित आयोजना प्रमुखहरू, सिनियर डिभिजनल इन्जिनियर, इन्जिनियर, परामर्शदाता लगायत २१ जना विरुद्ध अनियमितताको दाबी पेश गर्दै विशेषमा त्यस्तो मुद्दा दायर गरेको थियो ।
पाण्डे राप्रपाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्यसमेत हुन । सो मुद्दामा विशेष अदालतले सबै आरोपीलाई गत असारमा सफाई दिएको थियो । गत असार ५ गते विशेषका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले प्रतिवादी सबैलाई सफाइ दिदै भ्रष्टचार मुद्दामा अख्तियारको दाबी नपुग्ने उल्लेख थियो । त्यसबारे पूर्णपाठ अघिल्लो महिना मात्रै प्राप्त भएको थियो ।
जस्मा सिक्टाको नहर भत्किनुमा ‘घुलनशील माटो’ लाई कारक ठानिएको कुरा उल्लेख गरिएको छ । सोही फैसला बिरुद्ध पुनः अख्तियार पुनरावेदन माग गर्दै सर्बौच्च पुगेको प्रवक्ता भोला दाहालले बताए ।
फैसला चित्त बुझ्दो नआएका कारण फेरि सर्बौच्चमा पुनरावेदनको माग गर्दै जानु परेको उनले बताए । उनले माटोको कारण नभइ मापदण्ड र गुणस्त अनुसारको काम नभएको हुँदा सिक्दा नहर भत्किएको तथ्यका आधारमा फैसला आउने आशा ब्यक्त गरे ।
सिक्टा सिंचाइ आयोजनाको काम हुँदा तोकिएको मापदण्ड अनुरुप काम नभएको निष्कर्ष यसअघि नै त्यसबारे अध्यनका लागि बनेका बिभिन्न समिति तथा विज्ञ टोलीले अनुगमन पछि रिपोर्ट सार्वजनिक गरेका थिए ।
सिक्टा सिंचाई आयोजनाको पश्चिम मूल नहर निमार्णमा ठूलो आर्थिक अनियमितता भएको आशंका हुदै आएको समयमा बिशेषको फैसलाले सचेत जिल्लाबासी आश्चर्यमा परेको स्थानीय गोमा केसीले बताइन ।
‘हामी जस्ता स्थानीय सामान्ने नागरिकलाई पनि सिक्टा नहर निर्माणका क्रममा अनियमितता भएको छ भन्ने लाग्छ,’ उनले भनिन् ‘ त्यसबारे दोषीलाई कारबाही होला भनेको त झनै माटोको अवस्थालाई कारण देखाउँदै दोषीलाई जोगाउन खेल भए कि भन्ने हामीलाई पनि शंका लागेको छ ।’
उनले अब सर्बौच्चबाट न्यायिक र चित्त बुझ्दो फैसला आउँला भन्ने आशा पलाएको बताइन ।
राप्ती सोनारी गाउँपालिका वडा नं. २ स्थित सिक्टा नहरको मुख्य बाँध र त्यसको दक्षिण तर्फको नहरको भाग ।
तस्बिर : फरककोण