२०८२ चैत्र ३० गते सोमवार

भुइ तलाको काम पुरा हुनै लाग्दा बल्ल तुलसी टावरको सिलन्यास गरियो


तुलसीपुर, चैत २० । लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले सोमबार एक औपचारिक कार्यक्रमका बीच तुलसीपुरमा ‘तुलसी ट्रेड टावर’को सिलन्यास गरेका छन् ।


ब्रामण राखेर बिधि पूर्वक पूजा आरधना गरि नेकपा एमालेका नेता समेत रहेका मुख्य मन्त्री गिरी र तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले सात तले ट्रेड टावरको सिलन्यास गरेका हुन ।


जबकी टावर निर्माणको बेसमेन्टको काम लगभग अन्तिम चरणमा पुगि सकेको छ । तुलसीपुरका इञ्जिनियर पवन योगीले टावर निर्माणको २० प्रतिसत जति काम पुरा भइसकेको जानकारी दिए ।

टावर निर्माणको काम गरि रहेका स्थानीय प्रतिनिधि गेहेन्द्र गिरीले बेसमेन्टको काम सतप्रतिसत पुरा हुन लागेको जानकारी दिए ।


जस्लाई कतिपय बिपक्षी राजनीतिक दलका नेताहरुले नाम लेखाउने र चर्चा कमाउने लोभीहरुको संज्ञा दिएका छन् । ‘सिलन्यास त जग खन्दा सुरुमै हुनु पर्ने हो,’ नेपाली काँग्रेसका एक नेताले भने ‘ यतिधेरै काम भइ सकेपछि धुमधाम पूर्वक सिलन्यास गरिनु प्रचार बाजी मात्रै हो । उनीहरु नामका भोकाहरु हुन भन्ने प्रमाणित भएको छ ।’


२०७७ साल माघ १४ गते तत्कालिन नगर प्रमुख घनश्याम पाण्डे र नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्णप्रशाद सापकोटाका बीचमा बहुउदेश्य सात तले तुलसी टावर निर्माण गर्ने संझौता भएको थियो ।

जस्को कुल लागत २८ करोड १७ लाख ३९ हजार रहेको छ । टावर निर्माण गर्न नगर बिकास कोषको ७० प्रतिसत ऋण रहेको छ ।


जस अन्तरगत १९ करोड ७२ लाख १७ हजार ३०० रुपैंया नगर बिकासले बेहोर्ने र उपमहानगरपालिकाको ३० प्रतिसतले ८ करोड ४५ लाख २१ हजार ७०० रहेको इञ्जिनियर योगीले जानकारी दिए ।

२० बर्ष भित्र नगर बिकासलाई ऋण तिरी सक्ने संझौता रहेको छ । ८ प्रतिसत ब्याजदरमा उपमहानगरपालिकाले ऋण लिएको छ । त्यसमा तीन बर्ष सहुलेत अबधि राखिएको छ ।


टावर निर्माणका लागि २०७८ कात्तिक १६ गते इबिडिङ मार्फत उपमहानगरपालिकाले टेन्डर आह्वान गरेको थियो । कुल लागत २२ करोड २९ लाख ३३ हजार ६ सय बढी भ्याटसहित सार्वजनिक सूचना मार्फत टेन्डर आह्वान गरिएको थियो ।

८ वटा निर्माण कम्पनीले काम गर्न चासो देखाएपनि ६ वटा मात्रै पास भएका थिए । त्यसमध्य पनि सबै भन्दा कम दर रेट कबोल गर्ने समानान्तर डाइनामिक नारायनं. जेभी बाँकेले टावर निर्माणको काम जिम्मा लिएपनि काम भने स्थानीय निर्माण ब्यबसायी गेहेन्द्र गिरीले गरि रहेका छन् ।


उस्ले भ्याट बाहेक १४ करोड ४२ लाख ७० हजार ६ सय बढीमा काम सकारेको थियो ।
टावर निर्माणको लागि २०७८ साल चैत २९ गते निर्माण कम्पनी र उपमहानगरपालिकाका बीचमा दुई पक्षिय सम्झौता भइ कार्यादेश पाएको थियो ।

सात तलामा निर्माण गर्न थालिएको यो टावर एउटा वेशमेन्टसहित ६ तलामा निर्माण हुने छ । टावर निर्माण गर्न लागिएको क्षेत्रफल ४७ सय ३७ दशमलब ५ सय ८ स्क्वायर मिटर रहेको छ । जस्को ग्राउन्ड फ्लोरमा १६ वटा पसल, २ वटा लिफ्ट, १ इलिभेटर रहने छन् ।

त्यस्तै फष्ट फ्लोरमा १३ वटा पसल, दोस्रो र तेस्रो तला कार्यालय प्रयोजनका लागि निर्माण गरिने छ । चौथो तला रेष्टुरेण्ट, पाँचौंमा बहुउदेश्य प्रयोजका लागि र छैठौं तलापनि त्यही रुपमा डिजाइन गरिएको इञ्जिनियर योगीले जानकारी दिए ।


गत भदौ महिनामा मात्रै तुलसीपुर उपमहानगरपालिकाले भ्याटसहित ४ करोड ४० लाखमा सम्मुखमा भब्य प्रसानिक भवन बनाइ सकेको थियो । त्यसैले यो उपमहानगरपालिकालाई विकास निर्माण भन्दापनि आफ्ना लागि सुबिधा सम्पन्न भवनहरु बनाएर शासक बन्न खोजेको आरोप लाग्दै आएको छ ।

यो उपमहानगरपालिका आँफै ऋण डुबेको छ । जस्ले करारका कर्मचारीलाई समयमै तलव खुवाउन सकिरहेको छैन । यही कुरा सोमबारको सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टीकाराम खड्काले गरेका थिए ।


‘करोडौं ऋण दायित्व थपिएको बेलामा किन टावर निर्माण गर्नु परेको हो ? भनेर हामीलाई थुप्रै ठाउँबाट बिरोध र प्रश्नहरु आएपनि हामीले सम्झौंता अनुरुप काम अगाडि बढाउने निर्णय गरेका छौं,’ उनले भने ‘यसले तुलसीपुरको बिकासमा टेवा पुग्ने विश्वास गरेका छौं ।’


जबकी कुनै दिन मुलुकै स्मार्ट सहर भनेर नारा लगाइएको यो उपमहानगरपालिकाका सबै सडक बत्तिहरु बल्न छोडेको महिनौं पुगि सकेको छ । उज्यालो तुलसीपुर नारालाई ती सडक बत्तिले गिज्याइ रहेका छन् । कुरा यत्तिमै सीमित छैन, सडक बत्तिको बक्यौता रकम करोडको हाराहारीमा पुगेपछि नेपाल बिद्युत प्राधिकरणले पटक÷पटक कार्यालयको बिजुली बत्ति नै काटिदिएको छ ।


तर पनि कार्यक्रमलाई सम्बोधन गर्दै टावर लगाएतका संरचना निर्माणका लागि सम्झौंता गर्ने पूर्व मेयर घनश्याम पाण्डेले तुलसीपुरका सपनाहरु जागृत हुन थालेको चर्चा गरेका थिए । आँफुलाई पराजित गर्ने जनताहरुले आफ्नो सपना नबुझेको उनले टिप्पनी गरेका थिए ।


बास्तमा तुलसीपुर किन आफ्नै बलबुताले कुनैपनि नयाँ र ठूला योजना तय गर्न सकिरहेको छैन ।
मेयरका रुपमा खड्का निर्वाचित भएर आएको बर्ष दिन बितिसक्दा समेत तुलसीपुरले एउटा कुनैपनि गतिलो र महत्वकाँक्षी योजनाको काम अगाडि बढाउन सकिरहेको छैन ।
अहिले सम्म तुलसीपुरमा अघिल्लो कार्यकालमा सुरु भएका नियमित वा पुरुक काम भन्दा अरु कुनैपनि ठूला योजनाहरु अगाडि बढ्न सकेका छैनन् ।


ऋणकै कारण अघिल्लो कार्यकालमा प्रत्येक वडाका लागि एक करोड ७० लाख बजेट बिनियोजन गरेको यो नगरले यसपटक जम्मा ७० लाख मात्रै बिनियोजन गरेको छ । त्यसले गर्दा बिकास अवरुद्ध प्राय रहेको अर्का एक पूर्व वडाध्यक्षले बताए ।


‘ बार्षिक ७० लाखले वडामा के बिकास हुन सक्छ,’ उनले भने ‘ हिजो निर्वाचनमा बाँडेका आश्वासन आँफैलाई आज घाँडो साबित हुन थालेको हुनुपर्छ ।’
तुलसीपुरका एक ब्यबसायीले स्थानीय सरकारको दायित्व कर्मचारीलाई तलब खुवाएर मात्रै बस्न नसुहाउने बताए ।

जनताले तिरेको कर गाडी घोडा दौडाउनका लागि मात्रै नहुने भन्दै तिरेको करको सदुपयोग गरि जनतालाई सेवा सुबिधा दिन उपमहानगरपालिका चुलेको उनले आरोप लगाए ।


‘ उनीहरुले जसरी जनताका सामुन्ने वाचा कबुल गरेर भोट मागेका थिए, ठिक त्यसरी नै काम हुनु प¥यो नि,’ उनले भने ‘कार्यालय मात्रै संचालन गर्ने र कर्मचारीलाई तलब मात्रै खुवाएर बस्ने हो भने सरकार हुनु र नहुनुको के अर्थ रहन्छ?’

नयाँ काम के हुँदैछ ?
ऋणमा डुबेको तुलसीपुरले यसपटक आफ्नै बलबुताले कुनैपनि नयाँ र ठूला योजना तय गर्न सकेको छैन । झन्डै ४ करोड जति लागतमा गाउँ घरमा सडक कालोपत्रेको काम मात्रै गर्दै छ । योजना शाखाका अनुसार रातामाटादेखि आँखा अस्पताल २८लाख २६ हजारमा ठेक्का संझौता भइ काम पुरा भइसकेको छ । बेलझुण्डी– मनिकापुर सडक ३० लाख ९८ हजारमा काम पुरा भइसकेको छ ।


त्यस्तै गैरापातु सडक, कृष्ण मन्दिर – टिकरी, तल्लो चन्द्रगञ्ज, श्रीनगर टोल –बेलुवा समेत गरि नगरका १९ वडामा २६ वडा योजनाको काम ७ देखि १५ लाखमा भइरहेको छ ।


आफ्नै कार्यालयको सम्मुखमा ‘तुलसीपुर टावर’ बहुउेदश्य ब्यापारिक टावर निर्माणको काम सुरु गरेपनि यो पूर्व मेयर पाण्डेकै पालालको योजना हो । निर्माणाधिन टावर संगैको उपमहानगरकै जग्गामा पूर्व तर्फ बर्षौदेखि ब्यक्तिको रजाई चल्दै आएको छ ।

यहाँ ब्यक्तिका तीन भवनहरु निर्माण रहेपनि अझैं ती घरहरु उपमहानगरले हटाउन सकिरहेको छैन । यद्यपी उस्ले सार्वजनिक सूचना भने जारी गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *