२०८३ बैशाख ३ गते बिहिवार

ओरेकमा ११८ वटा घरेलु हिंसाका घटना

दलित समुदायका महिला वढी प्रभावित

तुलसीपुर,चैत १९ । महिला पुनःस्थापना केन्द्र (ओरेक) दाङमा महिला हिंसाका घटनाहरु वर्षेनी बढ्दो देखिएको छ । वितेको आर्थिक वर्ष २०७८÷०७९ मा कार्यालयमा विभिन्न प्रकृतिका १ सय ६३ वटा घटना दर्ता भएका छन ।

कार्यालयको तथ्याङ्क हेर्दा घरेलु हिंसाका घटनाहरु बढेको देखिन्छ । ओरेक दाङका कार्यक्रम अधिकृत पुजा चौधरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा १६३ वटा घटना मध्ये ११८ वटा घरेलु हिंसाका घटना दर्ता भएका छन ।

त्यस्तै सामाजिक हिंसा १०,यौन दुव्यहार ९,बलात्कार ७,सामुहिक बलात्कार २,जातिय विभेद ३,बोक्सीको आरोप ४,बालविवाह ५,दाइजो १ र अन्य ४ गरि १ सय ६३ वटा घटना दर्ता भएको अधिृकत चौधरीले जानकारी दिइन । महिला माथी हुने हिंसाका घटनालाई जातियगत हेर्दा सबैभन्दा धेरै दलित समुदायका महिलाहरु प्रभावित भएको देखिएको छन ।

ओरेकको तथ्याङ्क अनुसार ४१ प्रतिशत दलित समुदायका महिलाहरु हिंसा प्रभावित छन । ओरेकमा २० देखि २४ उमेर समुहका २४ वटा घटना दर्ता भएका छन भने १४ वर्ष उमेरसमुहका २०,२५ देखि ४० वर्ष उमेर समुहका १ सय ३०, ६५ वर्ष उमेर समुहका ६ वटा घटना दर्ता भएका छन । कार्यालयबाट २ सय ६५ जनालाई मनोविर्मश सेवा प्रदान गरिएको छ । जसमा २ सय ४६ जना महिला छन भने १९ जना पुरुष छन ।

ओरेकले स्थापनाकाल देखि नै महिला अधिकारका सवाललाई समुदायतहदेखि उठान गरि यसको सम्बोधनका लागि राज्यको नीति निर्माण तहमा पैरवी गर्दै आएको छ ।

हाल ओरेक दाङले महिला हिसाँ विरुद्धको अभियान,मानब अधिकार तथा सामाजिक न्यायको अभियान,आर्थिक,सामाजिक,सास्कृतिक अधिकार अभियान,प्राकृतिक श्रोत ब्यवस्थापन तथा दिगोजिविकोपार्जन कार्यक्रम, महिला स्वास्थ्य अधिकार कार्यक्रम, महिलाको गतीसिलताको अधिकार लगाएतका कार्यक्रमहरु गर्दै आएको अधिकृत चौधरीले बताइन ।


ओरेकको ३२ औ स्थापना दिवस
यसैबिच ओरेकको ३२ औ स्थापना दिवसको अबसरमा ओरेक दाङले आइतवार संगालो प्रदर्शनी तथा वार्षिक समिक्षा कार्यक्रम गरेको छ ।

ओरेक दाङका जिल्ला कार्यसमिति सदस्य पदमा चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले हिंसा रहित समाज निर्माणको लागि सबैजना हातेमालो गरेर अगाडी बढ्नुपर्ने बताइन ।

उनले हिंसामुक्त समाज बनाउन उपमहानगरपालिकाले विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताइन । साथै उनले महिलाहरु शिक्षासंगै रोजगारीमा पनि जोडिएमा हिंसा केही हदसम्म कम हुने धारणा व्यक्त गरिन ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का वडाध्यक्ष खुशीराम चौधरीले आफुहरु विगत २ वर्षदेखि ओरेक संग सहकार्य गरेर हिंसा न्युनीकरणको लागि काम गर्दै आएको बताए ।

कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सस्थापक अध्यक्ष लक्ष्मी आचार्यले हिंसाका घटनाहरूलाई राजनीति मुद्धा बनाएर उठाउनु पर्ने बताइन ।

फेडो दाङका अध्यक्ष युवा कराराले व्यवस्था परिवर्तन भए पनि सोचेअनुसारको अवस्था परिवर्तन हुन नसकेको तर्क गरिन । सम्बाद समुहका बरिष्ठ सहजकर्ता सुशिल बस्नेतले महिलाहरुको आफ्नो अधिकार सुनिश्चितका लागि लैगिक मैत्री कानुनको वकालत गर्न जरुरी रहेको बताए ।

महिला मानव अधिकार रक्षक सन्जाल दाङका अध्यक्ष सुशिला पौडेलले ओरेकले हिंसा प्रभावित महिला,मानव अधिकारको क्षेत्रमा थुप्रै योगदान पु¥याएको भन्दै चर्चा गरिन ।

त्यस अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सरस्वती थापा, महिला मानव अधिकार रक्षक सन्जाल बबई गाउँपालिका अध्यक्ष दिपा केसी,प्रगतिशील महिला सस्थाका अध्यक्ष कमला खत्री,जनचेतना सामुदायिक महिला समुहका अध्यक्ष कृष्णा चौधरी,महिला मानव अधिकार रक्षक सन्जालका सदस्य बिष्णा गौतम, अग्रणी संजालका जुनु बिक लगाएतले हिंसामा परेका महिलालाई माथी उठाउन ओरेकको भुमिका महत्वपूर्ण रहेको बताएका थिए ।


ओरेक दाङका सहायक कार्यक्रम अधिकृत कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तथ्याङ्क अधिकृत बिन्दु शर्माले गरेकी थिइन ।

त्यस अवसरमा विभिन्न संघ सस्थाका व्यक्तीहरुलाई सम्मान प्रत्र प्रदान गरिएको थियो भने विभिन्न नृत्य,गितहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *