तुलसीपुर,चैत १६ । नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ ।
महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन् ।
स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ।
केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ ।
सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्षर महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन् ।
स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन् ।
उनले इन्टरनेट माध्यमको अत्यधिक सदुपयोग गर्दै त्यसमार्फत् पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न स्वयं पत्रकार क्रियाशील हुनुपर्ने बताएका छन् ।