घोराही, चैत ,११ । संचारिका समुह दाङ शाखाको आयोजनामा घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमा डिसीसंग साक्षात्कार कार्यक्रम सम्पन्न गरिएको छ ।
संचारिका समुह दाङ शाखाका अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा न्यायिक समितिका संयोजक हुमा डिसीको प्रमुख आतिथ्यतामा साक्षात्कार कार्यक्रम गरिएको हो ।
कार्यक्रममा न्यायिक समिति मार्फत भएगरेका कामहरुका बारेमा जानकारी गराउँदै संयोजक डिसीले महिलामुखीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै त्यसको परिणाम देखिने गरेर काम गर्ने कुरामा जोड दिइन ।
त्यसअबसरमा आर्थिक वर्ष २०७९÷०८० को हालसम्म न्यायिक समितिमा सरिआएका २१ सहित १ सय ३ वटा मुद्धा दर्ता भएको बताइन । जसमा ५७ वटा फछर्यौट भएको छ भने ४६ वटा प्रक्रियामा रहेको छ ।
सबैभन्दा बढी जग्गा विवादका २५ मुद्धामा १० वटा फछर्यौट भएको छ भने १५ वटा प्रक्रियामा रहेको छ ।
यसैगरी लालनपालनका १५, मानाचामल २, पारिश्रमिक नदिएको २, वातावरण प्रदुषण २, गाली बेईज्जती २, रुख हटाई पाउँ २, घर बहाल १, लनेदेन १५ र अन्य १६ वटा मुद्धा दर्ता भएको उहाँको भनाई रहेको छ ।
साक्षात्कार कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, निवर्तमान उपाध्यक्ष लिला शाह लगाएत क्रियासिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण संचारिका समुह दाङ शाखाका सचिव निरला अर्यालले गरेकी थिइन ।