दाङ, चैत १० । रुकुम पश्चिमकी एक महिलालाई जिउँदै जलाउन खोजेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुका ३५ बर्षीय प्रेमबहादुर केसी रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ९ चौखाबाङ घर भइ वडा नं. ४ ठाराढुँगामा डेरा गरि बस्दै आएकी ३० बर्षीया कृष्णा खड्कालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको अभियोगमा पक्राउ परेका हुन ।
चैत ८ गते राति पौने ९ बजेतिर कोठा भाडामा एक्लै बस्दै आएकी खड्काको कोठामा प्रबेश गरि प्रेमबहादुरले उनको शरिरमा एक लिटर पेट्रोल छर्केर लाइटर बाली आगो लगाउन खोजेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
कृष्णाले गुहार मागेपछि घर धनी लगाएत आसपासका अन्य स्थानीय तत्काल पुगेको र त्यसपछि प्रेमबहादुर भागेको डिएसपी भट्टराईले बताए ।
घटनाबारे तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि भागेका प्रेमबहादुरलाई घटनाको दुई घन्टा पछि प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी भट्टराइले बताए।
प्रेमबहादुर बिरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।