२०८१ बैशाख ७ गते शुक्रवार

मुलुकको राजनीतिक अस्थिरतालाई जनताको सहभागितामा अन्त्य गर्ने छौं – शंकर पोखरेल

दाङ, चैत ९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको राजनीतिक अस्थितरतालाई जनताको सहभागितामा अन्त्य गर्न एमालेले चाहेको बताएका छन् ।

दाङको घोराहीमा बिहीबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विश्व भूराजनीतिको एक प्रकारको प्रभाव नेपालमा परेको भन्दै त्यही शक्तिले नेपाललाई संधै अस्थिर बनाइ रहने खोज्ने गरेको चर्चा गरे ।

नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिने र नेपालको राजनीतिक परिवर्तनमा लडेर राजनीतिक परिवर्तनको नेतृत्व गरेकाहरुलाई कमजोर बनाउने प्रयासहरु भइरहेको उनले बताएका थिए ।

यतिबेला नेपालका सामु तीन बिशेष प्रकारका चुनौति थपिएको र त्यसमध्य पहिलो चुनौती राजनीतिक अस्थितरता र अराजकतको भएको उनले टिप्पनी गरे ।

‘यो पहिलो चुनौतिले राष्ट्र निर्माणमा गम्भीर समस्या पैदा गरेको छ,’ उनले भने ‘ हामी त्यो राजनीतिक अस्थिरता र अराजकताको चुनौतिलाई जनताको सहभागितामा अन्त्य गर्न चाहान्छौं।’

बलियो राष्ट्रिय शक्तिका रुपमा एमालेलाई स्थापित गरिकन राजनीतिक अस्थिरता र अराजकताको चुनौतिलाई अन्त्य गर्न जरुरी रहेको उनले बताएका थिए ।

२०४६ सालको परिवर्तन पछाडिका ३२÷३३ बर्षको अबधिका झन्डै २८ भन्दा बढी प्रधानमन्त्रीहरु मुलुकले बेहोर्नु परेको भन्दै उनले एउटा प्रधानमन्त्रीले औषतमा एक बर्ष दुई तीन महिनापनि काम गर्न नपाएको हुँदा त्यति अबधिमा ब्यबस्थित योजना बनाएर कसरी कार्यान्वयनमा लैजाने भन्ने प्रश्न गम्भीर कुरा हो ।

‘ एक बर्षमा ब्यबस्थित योजना बनाएर कार्यान्वयनमा लैजान नपाउँदै प्रधानमन्त्री परिवर्तन हुन्छ भने देश कसरी बन्छ ?’ उनले प्रश्न गरे ‘ त्यसअर्थमा आवधिक निर्वाचन संगै स्थिर राजनीति भए पाँच बर्षसम्म एउटा प्रधानमन्त्रीले काम गर्न सक्ने वातावरण निर्माणको पक्षमा एमाले लाग्ने छ ।’

अस्थिरता पैदा गर्ने नियोजित प्रयासहरुलाई तोड्नु पर्छ भन्ने मान्नेताका साथ एमालेले काम गर्ने उनले बताएका थिए ।

त्यस्तै उनले प्रधानमन्त्री प्रचण्डले यसअघि पाँच दलिय गठबन्धन तोडेर आएपछि नेकपा एमालेको सहभागितामा नयाँ सरकार बन्ने बित्तिकै ओरालो लागेको अर्थतन्त्रमा सुधारहरु देखिएको उनले बताए ।

त्यतिखेर पूँजी बजारमा सकारात्मक संकेत देखिएको, राजश्व बृद्धि हुन थालेको , रेमिटेन्स उल्लेखिय मात्रामा बढेको, बिदेशी मुद्राको संचय बढेको, पूँजीगत खर्चगर्ने कुरालाई पनि तीब्रता दिने खालेस्थिति उत्पन्न भएको उनले बताएका थिए ।

सरकार सकारात्मक दिशातर्फ अगाडि बढीरहेको बेलामा नाटकिय रुपमा फेरि पुरानै समिकरणतर्फ फर्किने खेल हुँदा फेरि अर्थतन्त्र ओरालो लाग्न थालेको उनले दाबी गरे ।

‘ एउटा देशभक्त राजनीतिक शक्तिलाई सरकारबाट बाहिर राख्न चाहाने भित्री र बाहिरी तत्वहरुको परिनामका रुपमा फेरि पुरानै समिकरण बनेको हो,’ उनले भने ‘ देश र जनताले रुचाएको र आर्थिक सुधारहरु गर्न थालेपछि गरिएको नाटक मञ्चन धेरै टिक्नेवाला छैन।’

त्यस्तै उनले एमालेको नेतृत्वमा रहेको कृषी मन्त्रालयले भारतबाट आउने तरकारी र फलफूलमा बिषादी परीक्षणलाई अगाडि बढाएको प्रस्ताबको निर्णयलाई पेन्डिङ गर्ने काम भएको भन्दै यसबाट यो सरकारको नियत के हो ? भन्ने स्पष्ट भइसकेको उनले आरोप लगाए ।

त्यस्तै एमाले सरकारमा रहँदा अर्थमन्त्रालयले रासायनिक मलको आयातका लागि रकम बृद्धि गर्ने निर्णय गरेको प्रशंग उल्लेख गर्दै महासचिव पोखरेलले अहिलेको सरकारले रासायनिक मलको मूल्य बृद्धि गर्दै किसानमारा निर्णय गरेको बताए ।

 

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *