दाङ,चैत ७ । लुम्बिनी प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेश नेपाली कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले मान्छे मार्ने बाघलाई तत्काल नियन्त्रणमा लिई आक्रमणका घटनालाई रोक्न विशेष अभियान चलाउन लुम्बिनी प्रदेश सरकारलाई ज्ञापनपत्र मार्फत आग्रह गरेका छन ।
बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ५ मा बाघ आक्रमणबाट मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली ब्यक्त गर्दै उनले बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र त्यस वरपर रहेका सामुदायिक वन तथा खाता जैविक मार्ग भएर आवातजावत गर्ने जंगली जनावरको हिंसा दिनानुदिन बढिरहेको बताए ।
बर्दियामा बाघको संख्या अत्यधिक बढेको र बाघको बसोबासका लागि आवश्यक जंगलको क्षेत्रफल पर्याप्त नहुदाँ दिनानुदिन आमनागरिकले जंगली जनावरको आक्रमणमा परि ज्यान गुमाउनुपरेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्ग अन्तर्गत बस्तीसङ्ग जोडिएको सामुदायिक वन तथा निकुञ्ज आसपासमा मानव र वन्यजन्तु विचको द्वन्द दीर्घकालीन रूपमा अन्त्य गर्नका लागि प्रदेश सरकारले समयमा नै त्यसतर्फ ध्यान नदिएको हुँदा बर्दियाबासी जनता जंगली जनावरको शिकार हुनुपरेको जारि ज्ञापन पत्रमा उल्लेख छ ।
लुम्बिनी प्रदेश सरकारले त्यस तर्फ ध्यान नदिदाँ जंगली जनावरको हिंसा तीब्र बढिरहेको छ ।
वन जंगल वरपर रहेको मानव बस्ती र जंगली जनावरको द्वन्द न्यूनीकरण गर्न यथाशीघ्र पक्की पर्खाल निर्माणको लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,ज्ञापनपत्रमा भनिएको छ ।