२०८३ बैशाख १८ गते शुक्रवार

तुलसीपुर उपमहानगरको सार्बजनिक सुनुवाइ

मेयर साप हामीले तिरेको कर केका लागि ?

तुलसीपुर, चैत ६ । मेयर साप हामीले तिरेको कर के का लागि ? तुलसीपुर उपमहानगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को दोश्रो चौमासिकको सार्बजनिक सुनुवाइ कार्यक्रममा एक जना नागरिकले गरेको प्रश्न हो यो ।

बनेका बाटो एक महिनामै तहसनहस हुन्छन, विकास कहाँ छ ? घोराही-तुलसीपुरको बाटो कस्तो छ ? अन्य विकास त्यस्तै छ तुलसीपुर–६ निवासी दयाराम गौतमले भने ।’
उनी जस्तै अन्य सर्वसाधरणहरुले सोचे जस्तो विकास हुन नसकेको भन्दै अक्रोस पोखेका थिए ।

सार्वजनिक सुनाई कार्यक्रममा जेष्ठ नागरिक समाजका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले जेष्ठ नागरिकहरुको दिवा सेवा कार्यक्रमका लागि भवन निर्माण गर्नुपर्ने र प्रत्येक वडामा बजेट व्यवस्था हुनुपर्ने बताए ।

‘जेष्ठ नागरिकहरु घाममा तातिदै भत्ता वुझने गरेका छन्, यसलाई वडामै वितरण गर्ने कार्यक्रम कहाँ गयो ? यो किन गर्न सकिएन ? उनले प्रश्न गरे ।
उनले सुरक्षा भत्ता लिदा बैंकमा भिडभाड हुने गरेको बताउदै जेष्ठनागरिकका दिवसहरु मनाउनका लागि बजेटको व्यवस्था हुनुपर्ने बताए ।

कार्यक्रममा पत्रकार यज्ञ बुढाले आर्थिक बर्ष २०७९÷०८० का लागि पालिकाले बजेट थोरै ल्याएको र खर्च धेरै भएको भन्दै उपमहानगरपालिकाले जनतालाई झुक्याएको आरोप लगाए ।

यहाँ चालुखर्च ४७ करोड ७२ लाख बजेट विनियोजित गरेको र दोस्रो चौमासिकमा ५६ करोड ८७ हजार खर्च गरियो,चालुखर्चको सिमा बढछ भन्ने थाहा हुदाहुदै नागरीकलाई किन झुक्काउने उनले प्रश्न गरे ।

बुढाले २०७८ सालमा शिक्षा शाखाको बजेट ४१ करोड ७३ हजार देखिएकोमा १७ जना मात्र प्रथम भएको नतिजा आएको भन्दै प्रमुख प्रशासकिय अधिकृतलाई शिक्षा सुधार नभएको भन्दै गुनासो गरे ।

त्यस्तै उनले स्वास्थ्यमा फार्मेशि कतै दर्तानै नगरेर औषधी विक्री वितरण गरेको र त्यसलाई नियमन गरेको बताएका थिए ।

कार्यक्रममा अन्य नगरवासीहरुले पनि आफुहरुले उपमहानगरपालिकाले दिने सेवा सुविधाहरु भने जति दिन नसेको गुनासो गरेका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा दोस्रो चौमासिकसम्मको प्रगति प्रतिवेदन सूचना अधिकारी बाबुराम न्यौपाने प्रस्तुत गरेका थिए ।

न्यौपानेले चालू आर्थिक बर्षको हालसम्म आधुनिक बसपार्क, नमुना अटो भिलेज, तरकारी तथा फलफूल बजार केन्द्रको निर्माण तथा सञ्चालन, खरको छानोमुक्त नगर बनाउने अभियान, तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)स्थापना तथा सञ्चालन , तुलसीपुर मेट्रो अस्पताल स्थापना तथा सञ्चालन , मातृ शिशु सुरक्षा प्रोत्साहन कार्यक्रम (मातृशिशु मृत्युदर शून्य) क्षेत्रगत गुरुयोजनाहरु निर्माण, आवधिक योजना तथा दीर्घकालिन रणनीतिक योजना तयार, अनलाइन प्रविधिमार्फत कर सङ्कलन तथा घर नक्सा पास गर्न सकिने व्यवस्था, एक वडा-एक खेल मैदानको अभियान, फोहोर प्रशोधन केन्द्र सञ्चालन तथा जैविक मल उत्पादन, उज्यालो अभियान अन्तर्गत निःशुल्क मोतीयाबिन्दु अप्रेसन लगायतका उपलव्धीहरु भएको बताए ।

त्यस्तै उनले नगरस्तरीय, संघीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटका तथा अघिल्लो आर्थिक २०७८⁄ ७९ मा बाँकी २ सय १८ आयोजना र योजनाहरु मध्य सम्झौता गरिएका १ सय ५४ वटा सम्पन्न भएको बताए ।

त्यस्तै उपमहानगरपालिकाले दोश्रो चौमासिक सम्म आन्तरिक तर्फ ३० करोड राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ३२.६९ प्रतिशत राजश्व संकलन भएको छ ।

जस मध्य राजश्व बाँडफाँड घरजग्गा (रजिष्ट्रेशन दस्तुर) तर्फ १० करोड लक्ष्य रहेकोमा हालसम्म ४७.७२ प्रतिशत राजस्व संकलन भएको छ ।

उपमहानगरमा आर्थिक बर्षमा बिनियोजित कुल १ अर्व ८६ करोड ,४७ लाख ७९ हजार बजेट मध्य हालसम्म ३८.७८५० प्रतिशत खर्च भएको जानकारी दिए ।

कार्यक्रममा उनले शिक्षा तर्फ ३० वटा विद्यालयमा क्ष्ऋत् ल्याव स्थापना र सामग्री व्यवस्थापन, ८ वटा प्राविधिक विद्यालयमा अध्ययनरत ७१ जना छात्रालाई छात्रवृत्तिको व्यवस्था,स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयन, ४० जना व्यक्तिलाई छोटो अवधिको तालिम प्रदान गरिएको बताए ।

त्यस्तै स्वास्थ्य तर्फ नागरिकलाई घरदैलोमा पुगी स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श, ८२२ जना सुत्केरीको घरमै पुगी स्वास्थ्य परीक्षण तथा परामर्श, १८९२ बालबालिकालाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएको, हात्तीपाइले रोगविरुद्वको औषधी खुवाइएको तुलसीपुर उज्यालो कार्यक्रम अन्तर्गत मोतियाबिन्दुको निःशुल्क अप्रेशन लगाएतका सेवा दिएको बताए ।

महिला, वालवालिका तथा सामाजिक विकास तर्फ २३ जना हिंसामा परेका महिला तथा बालबालिकालाई सेवा उपलव्ध गराइएको, ५ सडक मानवलाई सडकबाट उद्धार गरिएको,१ जना दृष्टिविहीन महिलालाई कम्प्युटर तालिम प्रदान लगाायतका कार्यक्रमहरु गरिएको छ ।

त्यस्तै फोहोर प्रशोधन केन्द्र सञ्चालन तथा जैविक मल उत्पादन छ ।

उपमहानगरपालिकाले भावि कार्यक्रम अन्तर्गत पालिकाबाट प्रवाह हुने सेवालाई अझै बढी चुस्त दुरुस्त र प्रभावकारी बनाउने, चालु अवस्थामा रहेका पूर्वाधार निर्माणका कामलाई समयमै सम्पन्न गर्ने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आएका जिज्ञासाहरुको जवाफ नगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत र सम्वन्धित शाखाका प्रमुख तथा प्रतिनिधिहरुले दिएका थिए ।

त्यस अबसरमा थारु पत्रकार संघले सेवा लिइरहेका नागरिकसग अभिमत संकलन र नागरिक प्रतिगमन पत्र प्रस्तुत गरेका थिए ।

उपमहानगरपालिकाका प्रमुख प्रसाकसिय अधिकृत मोहन पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण थारु पत्रकार संघ दाङका अध्यक्ष नवीन चौधरीले गरेका थिए ।

 

 

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *