तुलसीपुर,फागुन २९ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख तथा हालसालै बढुवा भएका एआइजी टेकप्रसाद राईले लुम्बिनी प्रदेशमा लागु औषध, सवारी दुर्घटना, आत्महत्याका घटनाहरु मुख्य समस्याका रुपमा देखिएको बताएका छन ।
सोमवार लुम्बिनी प्रदेशका प्रहरी कार्यालय दाङले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा राईले उक्त घटनाहरुलाई हेरेर नेपाल प्रहरीले वार्षिक कार्ययोजना २०७९ लागु गरेको जानकारी दिए ।
‘यस कार्यालयमा आइसकेपछि अनुसन्धान गर्दै गर्दा र दैनिक रुपमा हुने घटनाहरु मध्ये लागु औषध, दुर्घटना, आत्महत्याका घटनाहरु मुख्य समस्याका देखिए,’ उनले भने,‘त्यसमा सीमा अपराधहरु र फैसला कार्यान्वयनलाई मुख्य प्राथमितामा राखेर केही गर्न सकिन्छ कि भनि ५ वटा कार्ययोजनाहरु बनाएर लागु गरिएको हो।’
सीमा तस्करी नियणन्त्रण, लागुऔषध नियणन्त्रण, आत्महत्या न्यूनिकरण, फैसला कार्यान्वयन र सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी कार्ययोजना २०७९ बनाई फागुन ४ गतेदेखि कार्यान्वयनमा ल्याएको उनले बताए ।
एआइजी राइले आफु सरुवा भएर आएको ४९ दिनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पुगेर निरिक्षण तथा अनुगमन गरेको जानकारी दिए ।
‘अहिलेसम्म पनि नागरिकहरुलाई प्रहरीको निशुल्क सेवा हुन्छ भन्ने जानकारी र्नै छैन,’ उनले भने ‘प्रहरी कार्यालयमा जादाँ निवेदन लेख्नका लागि ५ सय देखि ५ हजारसम्म शुल्क तिरेको पाइयो यो तत्काल रोक्न मैले यसअघि नै निर्देशन दिइसकेको छु ।’
प्रहरीको सेवा निशुल्क छ भन्ने फर्माट तयार गरेर प्रदेशभर निशुल्क निवेदनको लागि व्यवस्थापन गरि सकेका उनले बताएका थिए ।
त्यस्तै नागरिकले १०० मा फोन गर्दा वा प्रहरी कार्यालयमा फोन गर्दा प्रहरी कर्मचारीले आफ्नो परिचय समेत नदिइ कुरा गर्ने गरेको गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयका हरेक युनिटले कसैले फोन गरेमा कार्यालयको नामसहित आफ्नो परिचय उल्लेख हुने गरि नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएको उनले बताए ।
राइले लुम्बिनी प्रदेश भित्र प्रहरीबाट गरिने कार्य सम्पादन एवं सेवा प्रवाह सम्बन्धी गुनासो गर्न हटलाइन नम्बर,इमेल र फेसबुक पेजको व्यवस्था गरिएको जानकारी दिए ।
केही दिन पहिले मात्र डिआइजीबाट एआइजीमा बढुवा भएका राई बिदाई भएर सोमबार नै दाङबाट गएका हुन ।