सिमकोट ,फागुन २४ । हाल हप्ताको एक मात्र उडान भर्दै आएका निजी एयरलाइन्सलाई हप्तामा चार वटा उडान भर्न हुम्लावासीहरूले माग गरेका छन्।
पर्यटक आउने सिजन सुरु भएको भन्दै नेपालगञ्ज र सुर्खेतबाट उडान भर्ने निजी एयरलाइन्सहरू पोखरा र काठमाडौँ फर्किन थालेपछि हुम्लावासीको यातायात सेवालाई सहज बनाउन उडान सेड्युल थप गर्न माग गरिएको हो।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले एउटा एयरलाइन्सले हप्तामा चार वडा सेड्युल उडान भर्ने ब्यवस्था गर्न हुम्लावासीको तर्फबाट माग गरिएको बताए।
मंगलबार जिल्ला प्रशासक कार्यालयमा हवाइ यातायात सहज बनाउनका लागि बसेको समन्वय बैठकले सो माग गरेको हो।
उनले दुई दिनयता नेपालगञ्ज र सुुर्खेतबाट उडान कम भर्न थालिएपछि सेड्युल उडान एउटा एयरलाइन्सले चार वटा भर्न बैठकले माग गरेको बताए।
हाल निजी एयरलाइन्स तारा, सीता, समिट एयरले हप्तामा एक एक सेड्युल उडान भर्दै आएका छन् भने नेपाल एइरलाइन्सले हप्तामा दुई उडान भर्ने गरेको छ।
त्यतिले यात्रुहरूलाई सहज नभएपछि चार्टर उडानबाट समेत यात्रुहरू आउने गर्दै गरेका छन्।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा बसेको समन्वय बैठकले बिरामी, विद्यार्थी, अर्पझट काम पर्ने कर्मचारी लगाएतका लागि टिकटको समस्या हुने भएको कारण प्रत्येक उडानका लागि दुई सिट स्थानीय प्रशासनका लागि आरक्षण ब्यवस्थालाई निरन्तरता दिने पनि माग गरिएको छ।
त्यसैगरी बैठकले उडान कम हुन थलोपछि जिल्लामा खाद्यन्न तथा विकास निर्माणका सामानहरू ढुवानीमा समस्या पर्ने भएपछि एयरलाइन्सहरूलाई उडान थप्नपनि माग गरिएको छ।
बैठकमा सबै एयरलाइन्सका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी र उपाध्यक्ष शुशिला रोकायाको समेत उपस्थिती रहेको थियो।