दाङ, फागुन २३ । दाङमा प्रहरी प्रशासन प्रमुखहरुले कैदी बन्दीलाई अभिर टीका लगाइ होली पर्व मनाएका छन् ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्य र जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जिल्ला कारागार घोराहीका कैदी बन्दीलाई अभिर टीका लगाइ दिएका हुन ।
‘कैदी बन्दीहरुले होली पर्व मनाउन पाउनु पर्छ भन्ने माग गर्नु भएको रहेछ ,’ एसपी वलीले भने ‘जेलमा बस्नु परेपनि उहाँहरुले पनि निश्चित दायरमा रहेर संस्कार र संस्कृति मान्न पाउनु पर्छ भन्ने उदेश्य अनुरुप हामीले अभिर टीका लगाइ दिएका हौं ।’
कारागारमा रहेका कैदी बन्दी कारागार भित्रै होली मनाउन पाउँदा खुसी भएको र आपसमा खुसी साटासाट गरेको एसपी वलीले जानकारी दिए ।
अधिकाँसले प्रजिअ बैद्य र जिल्ला प्रहरी प्रमुख एसपीबाट अभिर टीका लगाएका थिए ।
वलीका अनुसार पाँच जना जति भने उनीहरुको हातबाट अभिर टीका थाप्न आनन् । ‘ चार पाँच जना जतिले हामीले टीका लगाउँदैनौं भन्नु भए छ,’ एसपी वलीले भने ‘ त्यो उहाँहरुको इच्छा हो र त्यसमा हामी केही बोलेनौं ।’
त्यसैगरी जिल्ला प्रहरी कार्यालयमा रहेका प्रहरी जवानदेखि सबैलाई प्रजिअ बैद्य र एसपी वलीले अभिर टीका लगाइ आपसमा शुभकामना साटासाट गरेको एसपी वलीले बताए ।