२०८२ चैत्र ३० गते सोमवार

शान्तिनगरमा वडाध्यक्षले गाउँपालिका अध्यक्षलाई आक्रमणको प्रयास गरे

तुलसीपुर, फागुन २० । स्वतन्त्रबाट निर्वाचित एक वडाध्यक्षले गाउँपालिका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतलाई टेबल उठाएर हान्न खोजेका छन्।

दाङको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत र प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्कामाथि वडा नम्बर २ का अध्यक्ष सुनिल ओलीले आक्रमणको प्रयास गरेका हुन्।

यो घटना गाउँपालिका अध्यक्ष बस्नेतको कार्यकक्षमा शुक्रबार बिहान ११ बजेतिर भएको थियो।

वडाध्यक्ष ओलीले गाउँपालिका अध्यक्षको कार्यकक्षमा छिरेर त्यहाँ रहेको टि-टेबल हावामा नचाउँदै कहिले अध्यक्ष र कहिले प्रशासकीय अधिकृतलाई हान्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

त्यसलगत्तै बस्नेत र खड्काले आफूहरूमाथि भएको दुर्व्यवहारबारे प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसमक्ष उजुरी गरेका छन्।

यसबारे बुझ्न खोज्दा वडाध्यक्ष ओलीले घटना स्वीकार गरे।

‘मैले गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षको टेबल उठाएर हान्न खोजेको हुँ,’ वडाध्यक्ष ओलीले भने, ‘मैले आक्रमण गर्न खोजेको गाउँपालिका अध्यक्षलाई हो तर त्यहाँ अधिकृत पनि बोल्न खोजेपछि मैले उहाँलाई पनि टेबल उठाएर हान्न खोजेकै हो।’

तपाईंले किन त्यस्तो गर्नुभयो त भन्ने प्रश्नमा वडाध्यक्ष ओलीले ‘खोलाजन्य वस्तुको उत्खननमा मनोमानी भएपछि आफू आक्रोशित बनेको’ जवाफ दिए।

उनका अनुसार शान्तिनगर-२ स्थित बौला खोलाको विष्णुपुर घाटमा बालुवा तथा ढुंगागिटी उत्खनन गर्ने जिम्मा सनराइज निर्माण सेवाले पाएको छ। उक्त कम्पनीले अहिलेसम्म झन्डै १ हजार ६ सय घनमिटर बालुवा, गिटी उत्खनन गरिसकेको गाउँपालिकाका कर्मचारी तथा पदाधिकारी बताउँछन्।

वडाध्यक्ष ओलीले भने मनलाग्दी ढंगले उत्खनन भइरहेको आरोप लगाएका छन्। ठेक्कामा एक ठाउँबाट बालुवा, गिटी उठाउने भनिए पनि आपसी मिलेमतोमा अर्कै ठाउँबाट उठाउँदै आएको उनको भनाइ छ।

‘यस्तो अनियमित काम रोक्नू भनेर धेरै समयदेखि भन्दै आएको थिएँ तर सुनुवाइ भएन,’ उनले भने, ‘बाह्र-पन्ध्र दिनदेखि त मेरो वडाबाटै उत्खनन् हुँदै आएको छ।’

गाउँपालिका अध्यक्ष बस्नेत भने यो आरोप अस्वीकार गर्छन्।

ओलीले खोलाजन्य वस्तु उठाइरहेको ठाउँमा आफ्नो एक जना व्यक्ति राखिदिनू भन्दा आफूले नमानेपछि आक्रमणको प्रयास गरेको अध्यक्ष बस्नेतले बताए।

हामीले यही प्रश्न वडाध्यक्ष ओलीलाई सोध्दा उनले नकार्न सकेनन्।

‘हो, मैले १०-१५ दिनलाई मेरो एक जना मान्छे राख्दिनुस् भनेर भनेकै हो,’ उनले भने, ‘एउटा मेरो मान्छे राखेको भए के बिग्रन्थ्यो र?’

गाउँपालिकाका अध्यक्ष बस्नेतले वडाध्यक्ष ओलीको व्यवहारबाट आफू आजित भएको पनि बताएका छन्।
आजको घटनापछि म आफैं घोराही पुगेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखसमक्ष ठाडो उजुरी दिएको छु,’ उनले भने, ‘भोलि थप कानुनी प्रक्रियाका लागि कदम चाल्ने छु।’

प्रमुख प्रशासकीय अधिकृत खड्काले पनि प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई फोन गरेर घटनाबारे जानकारी दिएको बताए।

वडाध्यक्ष ओलीले यसअघि पनि कार्यपालिका बैठकमै आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप छ।

‘गत असोजमा पनि उहाँले ममाथि कार्यपालि बैठकमै आक्रमण प्रयास गर्नुभएको थियो,’ उनले भने, ‘त्यतिखेर म भर्खरै सरूवा भएर आएको थिएँ। मैले शान्त बसेरै भए पनि उहाँलाई मनाएँ।’

वडाध्यक्ष ओलीले उक्त घटना पनि स्वीकार गरेका छन्।

‘मैले त्यतिखेर पनि गरेकै हो,’ उनले भने, ‘कार्यकारी अधिकृतले भएका घटनाक्रम थाहा पाउँदा वडाध्यक्षलाई सूचना नदिने कुरा स्वीकार्य हुन्छ र?’

यसअघि कर्मचारी भर्ना प्रक्रियामा गाउँपालिका अध्यक्षले मनोमानी गर्दा प्रमुख प्रशासकीय अधिकृत मौन बसेको उनले बताए।

नेपाली कांग्रेसले टिकट नदिएपछि धारा चुनाव चिन्हबाट लडेका २३ वर्षीय ओलीले १०७ मतान्तरका साथ वडाध्यक्ष जितेका हुन्।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *