दाङ, फागुन १६ । रोल्पाको रुन्टीगढी गाउँपालिका–२ का ४४ बर्षीय रुपलाल बिकले आफ्नो २० वर्षीय छोरा राजेन्द्रको हत्या भएको दाबी गरेका छन् ।
घोराहीमा पत्रकार सम्मेलन गरि रुपलालले त्यस्तो दाबी गरेका हुन । जिल्ला प्रहरी कार्यालय रोल्पाले यसअघि राजेन्द्रको मृत्यु माघ २९ गते राति भीरबाट लडेर भएको बताएको थियो ।
राजेन्द्रको शव फागुन १ गते राम्ली सामुदायिक वनको भीर मुनी खोचमा स्थानीयले फेला पारेका थिए । राजेन्द्र उक्त दिन गाउँका साथी भाइसहित रुन्टीगढी – १ मा आफन्तको बिहेमा गएका थिए । गाउँबाट राजेन्द्र र अन्यसाथीहरु बिहेका गए । बिहेभोजमा उनीहरुले मदिरा सेवन गरेको र फर्किने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले यसअघि बताएको थियो ।
तर, राजेन्द्रका बुवा रुपलालले भने आफ्नो छोराको सुनियोजित हत्या पछि भीरबाट खासलेको जस्तो देखाइएको दाबी गरे । यही आरोपसहित रुपलालले फागुन ४ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा किटानी जाहेरी दिने खोजेपछि प्रहरीले जाहेरी बुझ्न नमानेको रुपलालले बताए ।
प्रहरीले जाहेरी नबुझ्दा सम्म आँफुहरुले छोराको शब अस्पतालबाट नबुझ्ने उनले जानकारी दिए । बिगत १६ दिनदेखि राजेन्द्रको शब दाङस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शब गृहमा रहँदै आएको छ ।
घटनाबारे रोल्पाका प्रहरी प्रमुख डिएसपी श्यामकुमार सारु मगरले पक्राउ परेका किशोरले घटना स्वीकार गरेको जानकारी दिए । सुरुमा प्रहरीलाई झुक्याउन खोजेपनि ती किशोरले सोमबार दिउँसो घटना स्वीकार गरेको उनले बताए । डिएसपी मगरका अनुसार ती किशोरमाथि प्रहरीले पोलिग्राफटेष्ट समेत गरेको थियो ।
‘आपसमा भनाभन हुँदा आँफेले राजेन्द्रलाई ढुँगाले टाउकोमा हिर्काउँदा मृत्यु भएको र त्यसपछि भीरबाट खसालेको कुरा पक्राउ परेका किशोरले स्वीकार गरेका छन्,’ डिएसपी मगरले भने ‘ घटनामा अरुको पनि संलग्नता छ कि छैन भन्ने बारे थप अनुसन्धान हुन बाँकी नै छ ।’
जिल्ला प्रहरी प्रमुख डिएसपी मगरले पनि नागरिकता अनुसार हत्यामा संलग्न भनिएका किशोरको उमेर १६ बर्ष चार महिना मात्रै रहेको तथ्य देखिएको भएपनि स्थानीयका अनुसार उनको उमेर त्यो भन्दा बढी भएको भन्ने रहेको जानकारी दिए ।
आफ्नो छोराको हत्या सुनियोजित ढंगले भएको भन्दै जितबहादुर बिक, नाबालक भनिएका उनका छोरासहित सात जना बिरुद्ध किटानी जाहेरी दिन चाहेको पत्रकार सम्मलेमा हत्या गरिएका भनिएका राजेन्द्रका बुवा रुपलालले बताएका थिए ।