२०८१ बैशाख १२ गते बुधवार

कालीमाटीको काठमा वन कर्मचारीकै वक्रदृष्टि, अख्तियारद्वारा छजना बिरुद्ध विशेष अदालतमा आरोप दर्ता

तुलसीपुर,फागुन १५ । दाङ–सुर्खेत सडकखण्डअन्तर्गत (तुलसीपुर–पुरन्धारा–बोटेचौर) सडक निर्माण तथा विस्तारका क्रममा कटानमुछान गरिएको रुखको काठमा अनियमितता भएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको निवेदनका आधारमा अनुसन्धान गरेर छजनाबिरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

सडक विस्तारका क्रममा कालीमाटी–३ मा रहेको महिला सामुदायिक वन उपभोक्ता समूहको काठ कछानमुछान तथा बिक्री वितरणमा अनियमिता गरेको भन्दै कालीमाटी सव–डिभिजन कार्यालयका सहायक वन अधिकृतसहित छजनाबिरुद्ध विशेष अदालत काठमाडौंमा माघ २४ गते आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुुसन्धन आयोगले सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्साल, कालीमाटी सव–डिभिजन वन कार्यालयका फरेष्टर जयपृथ्वीराज बुढाथोकी, वन समूहका अध्यक्ष भीमबहादुर कँवर, सचिव पुष्पा वली खासु मगर, कोषाध्यक्ष जुद्धकुमारी वली र ठेकेदार दुर्गाप्रसाद वलीबिरुद्ध माघ २४ गते आरोपपत्र दायर गरिएको हो ।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ वटा रुखको उत्पादन घाटगद्दी नगरेको, गलत प्रतिवेदन तयार पारेको, घुस लिएको, घुस दिएको गलत प्रतिवेदनमा हस्ताक्षर गरेर प्रमाणित गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । दाङ–सुर्खेत सडकखण्डअन्तर्गत (तुलसीपुर–पुरन्धारा–बोटेचौर) सडक निर्माण तथा विस्तारका क्रममा महिला सामुदायिक वन समूहको क्षेत्रमा पर्ने रुख कटानमुछानका क्रममा दाङको बबई–४ मा रहेको दुर्गा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक दुर्गाप्रसाद वलीले काम गरेका थिए ।

सोही कटानमुछानका क्रममा कालीमाटी सव–डिभिजन वन कार्यालयमार्फत बदनियतपूर्वक प्रतिवेदन तयार पारेको, घाटगद्दीमा भएको वास्तविक परिमाणभन्दा कम देखाएको उल्लेख गरिएको छ ।

अख्तियारलाई प्राप्त भएको निवेदनका आधारमा अनुसन्धान गर्दै जाँदा छजनाको संलग्नता भएको दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय कालीमाटीका फरेष्टर जयपृथ्वीराज बुढाथोकीलाई एक लाख ८७ हजार आठ सय ७७ रुपैयाँ बराबरको हानीनोक्सानी गरेको र १५ वटा रुखको घाटगद्दी नगरेको भन्दै दुई लाख ६८ हजार पाँच सय ६१ रुपैया बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिम हिनामिना गरेको दाबीसहित सम्पत्ति असुलउपर गर्ने दाबी गरिएको छ ।

यस्तै कालीमाटी सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत मनोज शर्मा लम्साललाई रुख कटानमुछानका क्रममा संकलन भएको काठदाउराको घाटगद्दी, ग्रेडिङ जाँच तथा प्लटको अन्तिम जाँच गर्ने सिलसिलामा बदनियतका साथ प्रतिवेदन तयार गरेको, कटानमुछान एवं घाटगद्दी गर्ने ठेकेदार तथा लगत तयार पार्ने कर्मचारीको मिलेमतोमा गलत प्रतिवेदन पेश गरेको र ठेकेदारबाट एक लाख रुपैयाँ घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) देहाय (ग) अनुसार कैद र बिगोबमोजिम जरिवाना र रिश्वत लिएको रकमसमेत जफत गर्ने दाबीसहित अदालतमा आरोपपत्र दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रवक्ता भण्डारीका अनुसार सामुदायिक वन समूहका अध्यक्ष भीमबहादुर कँवर, सचिव पुष्पा वली खासु मगर र कोषाध्यक्ष जुद्धकुमारी वलीलाई वास्तविक परिमाणभन्दा कम नापजाँच गरी लगत तयार गरेको काठको लगत रजिष्टारमा दस्तखत गरेर प्रमाणित गरेर एक लाख ८७ हजार आठ सय ७७ रुपैयाँ बराबरको हानि नोक्सानी गरेको, १५ वटा रुखको घाटगद्दी तथा लगतमा समेत नराखेर हिनामिना गरेको भन्दै दुई लाख ६८ हजार पाँच सय ६१ रुपैयाँ बिगो कायम गर्ने उल्लेख गरिएको छ ।

सोहीअनुसार तीनैजनालाई सजाय तथा हिनामिना भएको सम्पत्ति असुलउपरका लागि दाबीसहित आरोपपत्र दायर गरिएको छ ।

काठ कटानमुछान प्रक्रियामा संलग्न रहेको दुर्गा ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक दुर्गाप्रसाद वलीलाई पनि अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ ।

अख्तियारले सप्लायर्सका सञ्चालक वलीलाई कटान रजिष्टार, घाटगद्दी लगत, काठदाउरा मूल्यांकन फाराममा उल्लेख भएको काठको नापको साइज तथा गोलिया परिमाणमा, वास्तविक परिमाणभन्दा कम नाप लिई वास्तविक लगत नराखी गैरकानुनी लाभ लिने उद्देश्य राखी एक लाख ८७ हजार आठ ७७ रुपैयाँ हानि नोक्सानी गरेको, १५ वटा रुखको घाटगद्दी नगरी लगतमासमेत नराखी दुई लाख ६८ हजार पाँच सय ६१ रुपैयाँ महिला सामुदायिक वन समूहलाई हानि नोक्सानी गरेको र डिभिजन वन कार्यालय सल्यानका सहायक वन अधिकृत मनोज शर्मा लम्साललाई घूस÷रिश्वत वापत एक लाख रुपैयाँ दिएको उल्लेख गरिएको छ ।

अख्तियारले वलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ग) अनुसार कैद, बिगो बमोजिम जरिवाना र रिश्वत वापतको रकमसमेत जफत गर्ने दाबीसहित आरोपपत्र दायर गरिएको छ ।

आरोप पत्र अनुसार विशेष अदालतले सुनुवाइ प्रक्रिया शुरु गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *