घोराही, फागुन ८ । सोमबार बिहान सडक डिभिजन कार्यालय दाङको मुल गेट अगाडि नाराबाजीसहित पर्दशन भएको छ ।
घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक पटक पटक म्याद थप भएरपनि काम नभएको भन्दै आक्रोसित स्थानीयले नाराबाजी गर्दै पर्दशन गरेका हुन ।
उनीहरुले ठेक्दारलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै मुख्य गेटमा तालाबन्दी समेत गरेका थिए । त्यसक्रमा प्रहरीले हस्तक्षेप गर्दा प्रहरीका बिरुद्धपनि नाराबाजीहरु भएको थियो ।
निर्माण कार्यको जिम्मेवारी लिएर लामो समय सडक निर्माण काम त्यसै लथालिङ्ग अवस्थामा छोड्दा सर्वसाधारणले सास्ति खेप्नु परेको हुँदा ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वसाधारणले सडकको गेटमा झन्डै एक घन्टा धर्ना दिदै ताला लगाएका थिए ।
२०७० सालदेखि निर्माण सुरु भएको उक्त सडक खण्ड अहिलेसम्म पनि पुुरा भएको छैन । तर ठेकेदार कम्पनी सम्पर्क बिहिन अवस्थामा छन् ।
त्यसको बिरोधमा स्थानीयले मुल गेटमा तालाबन्दी गरेर कार्यालय प्रमुखसहित कर्मचारीलाई कार्यालय प्रवेशमा केही समय रोक लगाएका हुन ।
सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले अबपनि आँफुहरुको आवाजको सुनुवाइ नभए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका थिए ।
धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, स्थानीय टोलका अध्यक्ष शिवशंकर देवकोटालगायतले अब जनतालाई यो वा त्यो बहानामा दुःख दिन नपाइने चेतावनी दिएका थिए ।
घोराही तुलसीपुर चारलेन सडक निर्माणको नाममा भएको ढिलासुस्तीका कारण २५ बढीको ज्यान गइ सकेको तथा कैयौं घाइते तथा अंगभंग भएको भन्दै धर्नादिनेहरुले आक्रोस पोखेका थिए ।