दाङ, फागुन ४ । दाङ तुलसीपुरमा खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा घाइते दूई मध्य एक जनालाई थप उपचारका लागि काठमाडौ लगिएको छ ।
सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएकी तुलसीपुर उपमहानगरपालिका – १६ को लहलौराकी ५० वर्षीया कुसुम केसीलाई बिहीबार बेलुकी हवाइ जहाज मार्फत काठमाडौं लगिएको हो ।
लहलौरा गाउँस्थित कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान ११ ः४० बजेतिर खाना पकाउने क्रममा ग्यास लिक भइ बिस्फोट हुँदा केसी र चितवनको भरतपुर महानगरपालिकाका २९ वर्षीय आशिष खनाल घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी अधिकारीले केसीको कम्मरमुनीको अधिकाँस भाग जलेको जानकारी दिएका थिए ।
केसीको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंजस्थित भेरी अस्पतालमा रिफर गरिएको थियो । त्यहाँपनि उपचार संभव नभएपछि बेलुकी नेपालगंजबाट बुद्ध एयर मार्फत थप उपचारका लागि काठमाडौं पठाइएको एक जना आफन्तले जानकारी दिए ।
अर्का घाइते खनाल भने उपचारका लागि गृह जिल्ला चितवन तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार खनाल कृषि बीउ उत्पादन कम्पनीका कर्मचारी हुन । उनको हात खुट्टामा पोलेको भएपनि अवस्था सामान्ने रहेको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक प्रबक्ता पर्वत केसीले जानकारी दिएका थिए ।