तुलसीपुर, माघ १६ । घोराही उपमहानगरपालिकामा सात बर्षको अबधिमा ४३ जलासय निर्माण गरिएका छन् ।
जसका लागि करिव २० करोड २१ लाख बढी खर्च भएको छ । घोराहीको करिब ९० बिगाहा क्षेत्रफलमा जलाशयले ओगटेको छ ।
घोराही उपमहानगरका १९ वडाहरु मध्य १४ वडाहरुमा ती जलाशय निर्माण गरिएका छन् । घोराही नगरले मात्रै ३४ जलासय निर्माण गरेको हो भने अन्य बाँकी जलासय बृहत सिंचाई परियोजना र प्रदेश सरकारको लगानीमा निर्माण भएका हुन ।
सबैभन्दा धेरै जलाशय वडा नं.१७ मा निर्माण गरिएका छन् । वडा नं. १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमल पोखरी गरी आठ जलासय निर्माण गरिएका छन् । वडा नं.१ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशय गरेर पाँच , वडा नं. २ मा चेपे, बलरामपुर, शहरे जलाशय निर्माण गरिएका छन् ।
वडा नं. ४ मा अमारे, चरिखुुट्टे, छरछरे, रोहिणी, सुकी दह,वडा नंं. ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं. ६ मा लख्वारे, पिपल–छहारी, फचकपुर तल्लो र फचकपुुर माथिल्लो जलाशय, वडा नं. ८ मा लरैना जलाशय, वडा नं. १० मा ठाँटी गाउँ जलाशय र वडा नं. ११ मा एउटा सिरुगैरा जलाशय निर्माण गरिएको छ ।
त्यस्तै वडा नं. १२ मा जंगखोली, वनबाटिका र साततले गरि तीन वटा जलाशय, वडा नं. १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं. १६ मा गंगटीया तल्लो र माथिल्लो गरि दुई जलाशय र वडा नं. १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय निर्माण गरिएका छन् ।
यी जलाशय निर्माणपछि अहिले कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेको घोराहीका मेयर नरुलाल चौधरीले फरककोणलाई जानकारी दिए ।
जलासय स्थानीय किसान र गाउँलेका लागि आयआर्जन र रोजीरोटीको माध्यम बनेको मेयर चौधरीले बताए । मेयर चौधरी आउनु पूर्व नै घोराहीमा कृतिम जलासय निर्माणको क्रम सुरु भएको थियो ।
उपमहानगरले सुरुवाती वर्षमा १२ वटा जलाशय निर्माण गरेको थियो । त्यसयता थप ३१ वटा जलाशय निर्माण गरेको चौधरीले बताए ।
जलाशय निर्माणसँगै स्थानीयले सिंचाई सुविधा लिएर कृषि पेशाबाट राम्रो आम्दानी लिन थालेपछि उत्साहित रहेको वडा नं. ५ का रमेश चौधरीले बताए ।
स्थानीयवासीले जलासय बनेपछि बाह्रैमास सिंचाइ पाएको र माछापालन, तरकारी खेती, फलफूल खेती तर्फ आकर्षित हुँदै गएको चौधरीले जानकारी दिए ।
यहाँ निर्मित जलासयबाट स्थानीयले फाइदा लिदै आएको भएपनि जलासयमा डुबेर बर्षेनी मानिसहरुको मृत्यु हुने गरेको हुँदा थप आवश्यक साबधानी अपनाउन आवश्यक रहेको सर्वसाधारणले बताउने गरेका छन ।
तस्बिर : फरककोण