२०८१ बैशाख ११ गते मङ्गलवार

आफैँलाई आगो लगाएका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा मृत्यु

काठमाण्डौ,माघ ११ । सङ्घीय संसद् भवन अगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको छ ।

कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे उनको मृत्यु भएको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले जानकारी दिए ।

इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले हिजो आफैँले आफ्नो शरीरमा पेट्रोल हालेर आगो लगाएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाएर उद्धार गरी उपचारका लागि बर्न अस्पताल लगे पनि शरीरको धेरैजसो भाग जलिसकेकाले बचाउन नसकिएको डाक्टर किरण नकर्मीले बताए ।

आफुलाई आगो लगाउनुअघि आचार्यले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफू ठूलो आर्थिक सङ्कटमा फसेको बताएका थिए ।

स्टाटसमा उनले आफूले आत्मदाह गर्नुपर्ने कारणसहित सङ्घर्ष र भोगाइबारे उल्लेख गरेका थिए । जीवनमा गरेका अनेक प्रयास असफल भएपछि आत्मदाहको कदम चाल्नुपरेको उनले लेखेको स्टाटसमा उल्लेख छ ।

आफूले पढ्दा, जागिर खाँदा, व्यापार गर्दा वैदेशिक रोजगारीमा जाँदा एवम् उद्योग चलाउँदा भोग्नु परेका समस्याबारे उनले उल्लेख गरेका थिए ।

आफू विद्यार्थी छँदा २०६७ सालमा ब्रेन टयुमर भएर बुबाको निधन भएको र त्यसपछि काठमाण्डौमा रहेर एउटा निजी विद्यालय र ठमेलका ट्राभल एजेन्सीमा काम गरेर गुजारा चलाउन थालेको उनले स्टाटसमा लेखेका छन ।

इलाममा रहेको पुर्ख्यौली घर बेचेर काठमाण्डौको बूढानीलकण्ठमा घर बनाएको तर ट्राभल एजेन्सीमा उधारो कारोबार धेरै हुँदा आफूलाई ऋणमाथि ऋण लागेको आचार्यले बताएका थिए ।

सरकार, बिचौलिया र ठूलो व्यवसायीले आफूजस्तै केही गर्न खोज्नेलाई हतोत्साही गर्ने गरेको उनले उल्लेख गरेका थिए ।

तनाव र समस्याकै कारण यसअघि पनि आफूले आत्महत्याको प्रयास गरेको उल्लेख गरेका थिए । उनले ऋण तिर्नका लागि आफ्नी श्रीमतीलाई सहयोग गरिदिन स्टाटसमार्फत् नै आग्रह गरेका थिए । आचार्यका श्रीमती र दुई छोरी छन् ।

 

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *