सिमकोट ,पुस ३० । हुम्लाको सिमकोट गाउँपालिकाका अति विपन्न परिवारलाई जस्तापाता अनुदानमा सहयोग गरिएको छ। सुरक्षित आवास कार्यक्रमअन्तर्गत उनीहरुलाई जस्तापाता सहयोग गरिएको हो।
गाउँपालिका अध्यक्ष विजय भण्डारीले संघीय सरकारको सुरक्षित आवास कार्यक्रमअन्तर्गत वडा नम्बर १ देखि ६ सम्मका ७६ विपन्न परिवारलाई निःशुल्क जस्तापाता सहयोग गरिएको बताए।
वडास्तरमा न्यून आयश्रोत भएका घरधुरीलाई छनौट गरेर वडाले गाउँपालिकालाई सिफारिस गरेको थियो। कार्यक्रम दुई आर्थिक वर्षको रहेको छ। जस्तापाता सिमकोट विमानस्थलबाटै लक्षित घरधुरीलाई वितरण गरिएको हो।
छनौट भएका यी घरधुरीले हाल माटाको छाना छाएको घरमा बस्नुपर्दा बर्खामा पानी चुहिने समस्या र हिउँदमा हिउँ पन्छाउन कठिन हुने भएकोले त्यसबाट मुक्ति दिलाउनका लागि जस्तापान सहयोग गरिएको हो।
माटोको छाना हटाउने अभियानअन्तर्गत यो कार्यक्रम सञ्चालन भएको हो। उनले पहिलो चरणमा छनौट भएका हरेक घरधुरीका लागि १४ जस्तापाता दिइएको बताए।
यसका लागि गाउँपालिकाले एक हजार ६४ जस्तापाता उपलब्ध गराउन सुरु गरेको छ।
