तुलसीपुर,पुस २९ । तुलसीपुर उपमहानगरपालिका वडा नं.८ स्थित बटलपुरकी ५१ वर्षीय शर्मा चौधरीको हिजो आज दिनचर्या फेरिएको छ ।
उनी काँसका ढकिया, पेनहोल्डर, हड्केश, टोपी, पुजादानी लगाएत विभिन्न डिजाइनका घर सजावटका समानहरु बनाएर बिक्रि वितरण गर्न मै व्यस्त छिन ।
चौधरीलाई ढकिया बुन्न पहिलेदेखि नै आउथ्यो । तर यसको बजारमा माग हुन्छ भन्ने कुरा थाहा थिएन । उनले २०७७ साल बैशाख महिनामा मेट्रो कलेजको आयोजना र तलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ढकिया बुनाई सम्बन्धी तालिम लिइन ।
तालिमपछि उनले गाउँमै एउटा महिला उद्यमी समुह गठन गरिन । यसले शर्मा जस्ता स्थानीय महिलाहरुको दिनचर्या फेरिन थाल्यो । परिचय नै फेरियो । उनी हाल बटलपुरमा रहेको सुर्यद्धय महिला ढकिया उद्यमी समुहकी अध्यक्षका रुपमा परिचित छिन । शर्माका अनुसार उक्त सुमहमा १४ जना उद्यमी महिलाहरु छन ।
सधैँ घरको काममा मात्र सिमित रहने थारु महिलाहरु ढकिया बन्ने तालिम लिइसकेपछि घर बाहिर निस्कन,कार्यक्रमहरुमा पुगेर बोल्न सक्ने भएका छन ।
तर जिल्लामा कच्चा पदार्थ नहुदाँ माग अनुसारका सामानहरु बनाउन कठिनाई भैरहेको शर्माले गुनासो गरिन ।
‘दाङमा पाउने काँस कच्चा र सानो हुन्छ,’ उनले भनिन्,राम्रो काँस ल्याउन बर्दिया जानुपर्छ,भाडा खर्च गरेर सामान ल्याउछौँ,धेरै दिन लगाएर बनाउँछौँ तर दुःख अनुसार सामानको मुल्य पाउनै मुश्किल छ ।’

उनले गत वर्ष प्रतिमुठा एक सय रुपैया हालेर दूई हजार रुपैयाको काँस ल्याएको र उक्त काँसबाट हालसम्म ४५ हजार बराबरको ढकीया लगाएका सामानहरु बनाई बिक्रि गरिसकेको उनले बताइन ।
‘एउटा ढकिया बनाउन घरको काम गरेर हप्ता दिन बढी लाग्छ,’ शर्माले भनिन्,‘तर यसको बजार भाऊ सस्तो छ ।’ उनले एउटा ढकियालाई एक हजार पाँच सय रुपैंयामा बिक्रि गर्दै आएको बताइन ।
त्यस्तै पुजादानीलाई आठ सय, हड्केशलाई एक हजार, पेनहोल्डरलाई पाँच सय, पानको पातलाई एक हजार,टोपीलाई एक हजार पाँच सय रुपंैयामा बिक्रि गर्दै आएको जानकारी दिइन ।
उनका अनुसार आफुले बनाउने सामानहरु मध्ये पेनहोल्डरको माग निकै बढी छ । ‘सामानहरुको माग धेरै आउँछ,हामीले बनाएका अधिकांश सामाग्रीहरुको बजारीकरण ग्रिन फाउन्डेशन संस्थाले सहयोग गर्दै आइरहेको छ,’ उनले भनिन्,‘यसले गर्दा हामीलाई घर खर्च चलाउन धेरै सहज भएको छ ।’

ग्रिन फाउन्डेसनकै सहयोगमा काठमाडौं लगाएतका ठाँउहरुमा आफुहरुले बनाएका सामानहरु लगेर प्रर्दशनीमा जाने गरेको शर्माले बताइन । शर्मा चौधरी मात्र होइन,सोही ठाँउ कै पार्वती चौधरीको पनि यस्तै सामान बुनेर राम्रो आम्दानी लिइ रहेकी छन ।
उनी पनि गाउँघरमा उद्यमी महिलाको रुपमा परिचित छिन । ‘बिहान–साझँ घरको काम भ्याएर सिकेको सिपलाई सदुपयोग गरिरहेकी छु,’ उनले भनिन्,‘अहिले पनि अर्डर आएका ढकिया पेनहोल्डर बनाउनमा व्यस्त छु ।’
पार्वती सुर्यद्धय महिला ढकिया उद्यमी समुहकी कोषाध्यक्ष पनि हुन । उनले आफुले सिकेको सिपबाट नयाँ नयाँ डिजाइनका विभिन्न सामानहरु बनाउनुका साथै समुहबाट ढकिया बुन्ने तालिमहरुमा प्रशिक्षण दिन समेत जाने गरेको बताइन । उनले यसै वर्ष मात्रै ५० हजार बढीको सामानहरु बिक्रि गरिससकेको बताइन ।
सोही ठाउँकै सुसिला चौधरीले पनि ढकिया बुन्न थालेको दूई वर्ष भयो । शर्मा र पार्वती जस्तै उनी पनि उद्यमी महिलाको रुपमा चिनिन्छन । ढकिया बुन्ने तालिम लिइसकेपछि निरन्तर रुपमा विभिन्न सामानहरु बनाउदै आएकी छन् ।
उनी गत बर्ष तुलसीपुर उपहानगरपालिका वडा नं. १९ मा एक महिना यी सामान कसरी बनाउने भनेर तालिम दिन गएकी थिइन ।