तुलसीपुर , पुस २८ । दाङमा तीन जना सवार मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । थप दुई जना घाइतेको अवस्था गम्भीर छ ।
दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नं.१० जलौराका १८ बर्षीय सरोज चौधरीको मृत्यु भएको छ ।
उपचारका क्रममा उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा १ ः ४० बजे मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
सोही ठाउँका मोटरसाइकल चालक १९ बर्षीय मंगल चौधरी र २३ बर्षीय ऋषिराज चौधरीको अवस्था गम्भीर रहेको छ । उनीहरु दुबै जनालाई राति ३ बजेतिर थप उपचारका लागि भैरहवा रिफर गरिएको छ ।
मध्यराति साढे १२ बजेतिर घोराही–११ अवलडाँडाबाट वडा नं.१० नारायणपुर तर्फ आउँदै गरेको रा ४ प ६०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकदेखि झन्डै १५ मिटर तल खेतमा पुगेको थियो ।
जिल्ला प्रहरी प्रबक्ता गौतमले तीनै जनाले मदिरा सेवन गरेको र चालकसंग सवारी चालक अनुमती पत्र समेत फेला नपरेको जानकारी दिए ।