तुलसीपुर ,पुस २७ । तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण कार्यक्रम सुरु गरेको छ ।
उपमहानगरपालिकाले जेष्ठ नागरिकको सम्मान स्वरूप बिगतका बर्ष झै यस बर्ष पनि न्यानो कपडा वितरण कार्यक्रमको थालनी गरेको हो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत ८४ बर्ष माथिका त्यसमा पनि बिपन्न परिवारका वृद्धवृद्धाहरुलाई न्यानो कपडा ( बल्याङकेट) वितरण गरिएको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकाश शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिइन ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक बिकास शाखा,वडा कार्यालय,जेष्ठ नागरिक नगर सन्जाल र जेष्ठ नागरिक लुम्बिनी प्रदेश सन्जालको समन्वय एबम सहकार्यमा न्यानो कपडा वितरण कार्यक्रम भैरहेको श्रेष्ठले बताइन ।
उनका अनुसार उपमहानगरपालिकाले प्रत्येक वडाका १५ जना विपन्न समुदायका ज्येष्ठ नागरिकलाई ब्लांकेट बितरण गर्न शुरु गरेको छ ।
याे कार्यक्रम उपमहानगरपालिका भित्रका १९ वटा वडामा संचालन गरिने छ ।
उपमहानगरपालिका भित्र रहेका ८४ वर्ष उमेर पुगेका ७ सय ७२ जनामध्ये विपन्न समुदायका तीन सय ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण शुरु गरिएको प्रमुख श्रेष्ठले बताइन ।
ब्लांकेट वितरणका क्रममा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण समेत गरिएको उनको भनाई छ ।
बुधबारसम्म १७ वटा वडामा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भैसकेको प्रमुख श्रेष्ठले बताइन ।
न्यानो कपडा पाएपछि जेष्ठ नागरिक निकै खुसी देखिएका छन् ।
उपमहानगरपालिकाले गरेको सम्मानले आफुहरुलाई निकै खुसी तुल्याएको एक जेष्ठ नागरिकले बताए ।