२०८१ बैशाख १२ गते बुधवार

सीमा नाकाका प्रहरी चौकी भवनको अवस्था नाजुक

शिवु खनाल,(भैंसाही नाका) पुस २३ । राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका स्थित खरको छानोले छाएको एककोठे कच्चि भवन र बाख्राको गोठ जस्तै एउटा जिर्ण भान्साघर रहेको छ । उक्त चौकीमा दरबन्दी विना प्रहरी साहाय निरिक्षकको कमाण्डमा ६ कार्यरत छन् ।
खरले छाएको कच्ची प्रहरीको भवनबाट प्रशासनिक कामकाज अनि ब्यारेक छ ।

प्रशासनिक काम हुने टेबुलकै छेवैमा एकापट्टि खाट राखेर चौकी इन्चार्ज सुत्छन् भने त्यसको अर्को छेवैमा प्रहरी जवानहरु पनि त्यही सुत्छन् ।

उक्त चौकीको भवनमा बर्खायाममा छाप्रोबाट पानी चुहिएर प्रहरीलाई बस्न निकै सकस हुन्छ । खरको छानाले छाएको र बेरबार गरेर निर्माण गरिएको भान्साघर जीर्ण भइसकेको छ । बर्खामा पानी चुहिएर खाना पकाउन समस्या हुन्छ । चौकी छेवैमा रहेको शौचालय बेलाबेलामा हावाले उडाइदिन्छ ।

भारतसंग जोडिएको दाङ देउखुरी राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारानाका स्थित सीमा प्रहरी चौकी डगमारा नाकाका प्रहरी एककोठे भवनमा कोच्चिएर बस्छन् । भवनका काठ पनि कुहिएर झर्न थालेका छन् । पुरानो भएको भान्साघरको खरको छाप्रो छियाछिया परेर कुहिन थालेको छ ।

पानी पर्न थालेपछि कहाँ पकाएर खाने भन्ने चिन्ता हुन्छ । ‘प्रहरीको बिजोक त त्यहाँभन्दा के हुन्छ र ? जनताको सुरक्षा गर्ने प्रहरी आफैँ असुरक्षित छन्, राजपुर गाउँपालिकाका प्रवक्ता श्यामबहादुर रोकाले भने । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा नेपाल प्रहरीले चुहिने छाप्रोबाट नाकाबासीलाई सुरक्षा प्रदान गरिरहेका छन् ।

वर्षौदेखि नेपाल प्रहरीले स्थानीय नाकाबासीहरुको कच्ची घर भाडा लिएर सीमावर्ती क्षेत्रबाट सुरक्षा प्रदान गर्दै आइरहेका हुन् । ती घरहरु अहिले जिर्ण बन्दै गइरहेका छन् ।

राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाका सिमा प्रहरी चौकीले घर भाडामा लिएर स्थानीय नाकाबासीहरुलाई शान्ति सुरक्षा दिने काम गरेको छ । त्यही घरमा लगाइएको छाप्रो चुहिन थालेपछि प्रहरीलाई सीमावर्ती क्षेत्रमा रहेर शान्ति सुरक्षा प्रदान गर्न कठिनाई भएको डगमारानाका सीमा प्रहरी चोकी इञ्चार्ज टेकबहादुर ठेडी मगरले बताए ।

उनका अनुसार वर्षामा छाप्रोको छानो चुहिएर समस्या रहन्छ । निकै पुरानो खरको छाना विभिन्न ठाउँमा प्वाल परेको र त्यहीँबाट शीत तथा पानी चुहिने गरेको छ । प्रहरीले शीत र पानीबाट बच्न ओछ्यान माथि बाक्लो कागज राख्ने गरेका छन् ।

प्रहरी भवनका लागि आफ्नो जग्गा हुदाँ पनि भवन बनाउनतर्फ कसैको चासो छैन । चौकी नजिकै भारततर्फ व्यवस्थित भारतीय एस.एस.बिको सुरक्षा क्याम्प छ । तर, भवन बनाउनका लागि पहल गर्नतर्फ स्थानीय पालिका र अन्य सम्बन्धीत निकायले कुनै पनि चासो नदिएको चौकी इन्चार्ज मगरले बताए ।

दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चौकीको भवन सुधारमा ध्यान दिने बताए । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रका जनतालाई सुरक्षा दिन प्रहरी आफैँ असुरक्षित भएको उनीहरुले बताए ।

भारतसंग जोडिएका दाङको मुसिनाकामा दशजनाको दरबन्दी भएतापनि पाँच जना, कोइलाबास नाकामा २३ जनाको दरबन्दी मध्य सातजना, सिरियानाकामा पाच जना, खांग्रनाकामा २३ जनाको दरबन्दी मध्य छ जना, डगमारा नाकामा छ जना, भैंसाही नाकामा २२ जनाको दरबन्दी मध्य छ जना नेपाल प्रहरी रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टराईले बताए ।

निर्माण हुन सकेन प्रहरी चौकी
भारतसंग जोडिएका दाङ सीमावर्ती क्षेत्रमा रहेका सिमा प्रहरी चौकीहरुको अवस्था दिनप्रतिदिन जिर्ण बन्दै गएको छ । क्षतिग्रस्त खरका छाना भएका कच्ची घर टहराहरुमा रात विताउन बाध्यछन् भारतसंग जोडिएका दाङका सीमा प्रहरी चौकीका प्रहरीहरु ।

समिावर्ती क्षेत्रमा रहेका अधिकांश चौकीका टहराहरु जिर्ण बन्दै गएता पनि सम्बन्धित निकायको त्यसको निर्माण तर्फ ध्यान पुग्न सकेको छैन । प्रहरीहरु क्षतीग्रस्त कच्ची भवनहरुमा रात विताउन बाध्य रहेका छन् ।

नागरिकको सुरक्षा दिने जिम्मा पाएको प्रहरी भारतसंग सीमा जोडिएको दाङको गढवा र राजपुर गाउँपालिका अन्तरगत पर्ने सीमा नाकामा टहरोमा अुसरक्षित रुपमा बस्दै आएका छन् ।

जिल्ला सदरमुकामबाट करिब ७५ किलोमिटरको दूरीमा रहेको काठ र खरका छानाले छाएर बनेको अस्थायी प्रहरी पोष्टमा प्रहरी कर्मचारी वर्षौदेखि बस्दै आएका छन् ।

स्थानीय नाकाबासीहरुसंग मागेर बनाएको टहरो जीर्ण हुँदासमेत स्थायी भवन नबन्दा वर्षा र हिउँदमा दुबै समयमा प्रहरीले सास्ती खेप्नु परेको छ ।

सीमा नाकामा रहेका प्रहरी पोष्टका प्रहरीका लागि बाह्रै महिना खानेपानीको समस्या रहेको इलाका प्रहरी कार्यालय खांग्रानाकाका इञ्चार्ज रमइ यादवले बताए ।

प्रहरी पोष्ट भएको स्थानमा धारा छैन, पोष्टबाट खोलामा रहेको जरुवाको पानी भर पर्नुको कुनै विकल्प छैन । केही प्रहरी कर्मचारीको बिहान भर पानी ओसार्दैमा जान्छ । जरुवाबाट ल्याएको पानी खानुपर्ने बाध्यता छ ।

नुहाउन, कपडा धुन र शौचालयमा समेत पानीको उचित प्रबन्ध छैन ।

सीमा नाकाका अस्थायी प्रहरी पोष्टमा खानेपानी र भवनको समस्या मात्रै होइन, सवारी साधन र सूचना प्रविधिको पहुँचमा समेत छैन ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *