दाङ,फागुन ३० । स्वर्गीय प्रदेश सांसद उत्तरकुवार वलीकी पत्नि विमला वलीले अब हुने उपनिर्वाचनमा आफु चुनावमा लड्न तयार रहेको बताएकी छन् ।
विमलाले आफ्ना स्वर्गीय पतिका अधुरा इच्छा पुरा गर्न आफु राजनीतिमा होमिने निर्णयमा पुगेको जानकारी दिएकी हुन । ‘उहाँले अघि सारेका अधुरा काम पुरागर्न म चुनाव लड्ने निर्णय गरि सकेन,’ वलीले भनिन् । हालसम्म टिकटको बारेमा केन्द्रका नेताहरु कसैसंगपनि कुरा नभएको बताएकी उनले पार्टीले विश्वास गरेर टिकट दिए चुनाव लड्ने जानकारी दिइन ।
पतिको मृत्यु पछि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ एरपोर्टस्थित निजी निवासमा बस्दै आएकी विमला वलीले हालसम्म आफुले राजनीति नगरेको भएपनि परिस्थितिले राजनीति गर्नुपर्ने अवस्था आएको तर्क गरिन । पार्टीको सक्रिय सदस्यता समेत नलिएकी वलीले राजनीतिका बारेमा आफ्ना स्वर्गीय पतिसंग भने छलफल हुने गरेको जानकारी दिइन । बच्चाहरु सानै भएको हुँदा उनीहरुलाई हुर्काउनु पर्ने दायित्वका कारण हालसम्म आफु एउटा गृहणीका रुपमा मात्रै सिमित बन्नु परेको उनको कथन छ । वलीका ७ र ९ बर्षका दुई छोरा छन् । जो काठमान्डौंमा अध्यनरत छन् ।
पुर्खेउली माइती रुकुम भएपनि वली भने नेपालगञ्जमै जन्मि हुर्केकी हुन । कलेज अध्यनका लागि नेपालगंञ्ज पुगेका स्वर्गीय सांसद वलीसंग त्यही क्रममा माया बसेपछि उनीहरुले भागी विहे गरेका थिए । ३४ बर्षीया विमला वलीले श्वास्थ्य विषय बाट आइए उत्तिर्ण गरेको जानकारी दिइन ।
माघ २४ गते प्रदेशसभाको बैठक सकेर दाङ तुलसीपुरस्थित घर तर्फ आउँदै गर्दा घोराहीबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको यात्रुबहाक बसले बुटवलबाट तुलसीपुरतर्फ आउँदै गरेको बा १८ च ६८३६ नम्बरको सांसद वलीले आफै चलाएको कारलाई घोराहीको वडा नम्वर ३ चिसापानी नजिकै ठक्कर दिएको थियो । ३७ बर्षीय वलीको उपचारका क्रममा त्यसको १६ दिन पछि फागुन १० गते काठमान्डौंमा निधन भएको थियो ।
दाङको दंगिशरण गाउँपालिका वडा नं. ६ लेटार निवासी सांसद वली गत बर्ष भएको प्रदेशसभा निर्वाचनमा दाङ निर्वाचन क्षेत्र नं. ३(ख) बाट निर्वाचित भएका थिए ।