ब्रेकर
‘ओभरलोड बोकेवापत अतिरिक्त १० हजार बढि कमाउने व्यवसायीले एक हजारको जरिमाना तिर्न कुनै असहज छैन’
दाङ, पुस १० । चारलेनमा स्तरोन्नती गर्ने भनिएको सडक धुजाधुजा भैरहेका वेला अघिल्लो साता पुर्वपश्चिम राजमार्गको लमहीमा एक पटक ट्राफिक प्रहरीको ओभरलोड कारवाहि नियाल्यौं । राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समेतको सहकार्यमा ट्राफिकले केही टिप्पर र केहि ट्रकहरुलाइ जरिमाना रसिद काटिरहेको थियो, ओभर लोड बोकेको दोषमा । ओभर लोड नबोक्ने त रित्ता गाडि मात्रै थिए, चलेका टिप्पर र ट्रकहरुमा अधिकांश ओभरलोडकै निसानामा परे ।
करिब करिब धेरैलाइ प्रहरीले प्रति मालवाहक सवारीसाधन एक हजारका दरले जरीमाना काटेको देखियो । स्पष्ट तथ्यांक त मैले लिइन, तर धेरै मालवाहक व्यवसायीहरुले आफुले हजार जरीमाना तिरेर उम्केको रसिद देखाइरहेका थिए । सायद यहां जरीमाना काटेको रसिदले उनीहरुलाइ गन्तव्य स्थलसम्म पुग्न अर्को जरीमाना काट्नुपर्ने छैन ।
ओभरलोडको समस्या दाङ जिल्लामा नौलो होइन, यस अघि पनि प्रहरीले यसलाइ नियन्त्रण गर्न धेरै प्रयास गर्यो । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले टिप्परहरुले आफुखुसी थपेका ढालाको साइज कटाउन निर्देश गर्यो । धेरै टिप्परहरुले ढाला काटे पनि । तर फेरी त्रिपाल ओडाएर टिप्परहरुले ओभर लोड बोकिरहेका छन् । किनकी टिप्परहरुलाइ ढालामुनि तोकिएको घनमिटरमा जुनसुकै सामान बोक्ने इजाजत नेपाल सरकारले दिएको छ ।
त्यहि कारण ढाला काटेका व्यवसायीहरुले फेरी केहि बढि सामान बोक्न त्रिपालको प्रयोग गर्न थालेका छन् । एउटा ६ सय रुपैयाको त्रिपालले गह्रौ सामान ढाक्न सके ५ टन भन्दा बढि बोक्न पाइन्छ भने किन नबोक्ने? भन्नेमा टिप्पर व्यवसायीहरु लागिरहेका छन् । समस्या टिप्परको भन्दा ट्रकमा बढि देखिएको छ । किनकी ट्रकहरुलाइ ओभरलोड बोकेर गरिखान यहांका सिमेन्ट उद्योगहरुले सिकाएका छन् । राज्य र व्यवसायीले तोकेको भाडा दिन नचाहने सिमेन्ट उद्योगहरुले बढि भार बोकेर त्यसको सन्तुलन मिलाउन अभ्यस्त छन् । समग्रमा घाटामा यातायात व्यवसायीहरु नै परेका छन् ।
प्रचलित ऐन कानुन अनुसार ६ चक्के टिप्परले ८ घन घनमिटर ढाला भित्र मात्र सामान बोक्ने इजाजत छ । दश चक्केलाइ १२ घनमिटर बोक्ने इजाजत छ । दाङ जिल्लामा यहि मापदण्डका टिप्पर मात्रै प्राय गुड्ने हुन् । धेरैजसो व्यवसायीहरुले ढाला काटेता पनि त्रिपाल ओढाएर ओभरलोड बोक्ने परम्पराले सडक च्यातिएको च्यातियै छ ।
ट्रकहरुले कति माल बोक्ने भन्ने सन्दर्भमा यातायात व्यवस्था विभागले एउटा मापदण्ड तोकेको छ । निगरानी यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने हो । तर यातायात व्यवस्था कार्यालयलाइ यी सवथोकमा प्रयाप्त जनशक्ति नभएको बताउंदै आएपछि जिल्लाका ट्राफिक प्रहरीले यसको निगमन गरीरहेका छन् ।
६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, वाह्र चक्केको २१ टन सम्मको भार बोक्ने अनुमती नेपाल सरकारले दिएको छ । १४ चक्के ट्रकलाइ २५ टन सम्म माल वोक्ने अनुमति छ । तर यहांको अवस्था र कारवाहि अचम्मको छ । जरीमाना हजार, धेरै गर्नुपरे ट्राफिकले ५ हजार रुपैया सम्म हो । तर ओभर लोड गर्नेको सामान सडकमै झार्ने वा अन्य मालवाहक साधन झिकाएर अर्कोमा लैजाने व्यवस्थापन गर्न प्रहरी तयार छैनन् । किनकी एक हजारको जरिमानाले सहजै अतिरिक्त १६ टन सम्म बोक्ने मालवाहक साधन सहजै उम्कने परिपार्टि छ ।
एक हजार रुपैया जरीमाना तिरेर थप १६ टन बोक्न मिल्छ भने त्यसबाट उनीहरु व्याक हुने अवस्थै रहंदैन । अतिरिक्त मालले मात्रै थप भाडा कम्तिमा १० हजार रुपैया व्यवसायीलाइ आउंछ । के ओभरलोडको यो जरीमानाले दाङका सडक भ्वाङ पर्न जोगिएलान ? यहि प्रश्न जिल्ला प्रहरी कार्यालयका प्रमुख वीर वहादुर वलीलाइ गरें । उनको पनि यस्तै जवाफ थियो, हामीले त कानुनले दिएको अधिकार मात्रै कार्यान्वयनमा ल्याउने हो । ठाउका ठाउ माल झार्न हामीलाइ कानुनले अधिकार दिएको छैन । त्यहि भएर जरिमाना काटेर सचेत बनाउने मात्रै हो ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले पनि आफुहरुले प्राप्त अधिकारको अधिक्तम उपयोग गरेर ओभरलोडको कारवाहीलाइ तिब्र पारेको बताए । आफुहरुलाइ कम्तिमा ५ हजार रुपैया सम्म जरिमाना काट्ने अधिकार भएको र त्यो भन्दा थप कारवाहीको अधिकार यातायात व्यवस्था कार्यालयलाइ मात्रै भएको बताए ।
यातायात व्यवस्था ऐन २०७४ ले ट्राफिक प्रहरीलाइ ओभरलोड बोक्ने साधनलाइ ५ हजार रुपैया सम्म जरिमाना गर्ने अधिकार भएपनि प्रहरीले भने धेरैलाइ १ हजारको जरीमाना रसिद थमाउंदै आएको छ । समस्या धर्मकाटाको पनि रहेको छ । जिल्लामा पुर्वपश्चिम राजमार्गको लमहीमा मात्रै रहेको छ ।
त्यो संगै यहांको सडक विभागले सडकको भार क्षमता समेत उल्लेख गरेको छैन । ट्राफिक प्रहरी कार्यालय दाङका हवल्दार लोकेन्द्र विष्ट भन्छन्, यहांका सडकको भार क्षमता समेत सडक डिभिजन कार्यालयले जानकारी गराएको छैन ।
त्यहि कारण कारवाहीमा पनि समस्या भएको छ । अन्य जिल्लाहरुमा भने सम्बन्धी सडक कार्यालयहरुले हरेक सडकको भार क्षमता उल्लेख गरेर संकेत वोर्ड पनि राखिसकेका छन् ।
तर दाङ जिल्लामा निर्मित सडक वा पक्की पुलको भार क्षमताको संकेत वोर्ड कतैपनि राखिएको छैन । के ट्राफिक प्रहरीले काटेको जरिमाना रसिदले सडक भत्कन रोकिएलान ?
