काठमाडौँ,मंसिर २९ । शहरी विकासमन्त्री मेटमणि चौधरीले काठमाडौं उपत्यकाभित्र देखिएका सुकुम्बासी समस्या समाधान गर्न सबै पक्षको सहयोग र सहमति आवश्यक रहेको बताएका छन् ।
मन्त्री चौधरीले काठमाडौं शहरको सौन्दर्यमा प्रतिकूल असर पार्ने फोहोरमैलाको व्यवस्थापन तथा नदी किनारामा रहेका सुकुम्बासी बस्तीको व्यवस्थापन कार्य चूनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि सबै पक्षको सहयोग र सहमती आवश्यक्ता रहेको प्रष्टयाए ।
२८ औं महानगर दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंलाई व्यवस्थित, सफा र सुन्दर शहर निर्माण गर्नका लागि आवश्यक पूर्वाधारको विकास गर्न ठोस कार्यहरू संचालन गर्न ढिलाइ गर्न नहुने पनि स्मरण गराए ।
महानगरपालिकालाई बसोबास योग्य, प्रदूषणरहित वातावरणमैत्री बनाई महानगरबासीहरूको आधारभूत आवश्यक्त परिपूर्ति गर्न काठमाडौं महानगरपालिकाले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री चौधरीले यस काममा नेपाल सरकारले पनि सक्दो सहयोग गरिरहेको र त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री चौधरीले महानगरभित्र देखिएका फोहारमैलालगायतका समस्या समाधान गरी अघि बढन काठमाडौं महानगरपालिका सफल हुने विश्वास समेत व्यक्त गरे ।
उनले बसोबास योग्य शहरको रुपमा काठमाडौं महानगरपालिकालाई कायम गर्न आफ्नो मन्त्रालयले गरिरहेको सहकार्यलाई अझ बढावा दिने पनि दोहोर्याए ।