दाङ,मंसिर १९ । दाङको बंगलाचुली गाउँपालिका– ३ कमिरेचौर स्थित रेडियो बंगलाचुलीमा कार्यरत सञ्चारकर्मीमाथि दुब्र्यबहार भएको छ ।
एमाले प्रदेश कमिटि सदस्य भेषराज खत्रीसहितका केही ब्यक्तीले रेडियोमै पुगेर सञ्चारकर्मीमाथि दुव्र्यबहार गर्नुकासाथै रेडियोमा तोडफोड गरेको, कार्यालयको आन्तरिक कागजात च्यातेको पत्रकार महासंघ दाङले विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
अध्यक्ष दुर्गालाल केसी र सचिब आरके शीतलले विज्ञप्ति जारी गरि आज दिउसो साढे १ बजेतिर उक्त घटना भएको जानकारी दिनुभएको छ । सोही घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
रेडियो माथि आक्रमण गरेपछि हाल रेडियोमा कार्यरत सञ्चारकर्मीहरुलाई मनोवैज्ञानिक रुपमा काम गर्न नसक्ने गरी मानसिक डर त्रास समेत उत्पन्न हुनुका साथै व्यक्तिगत असुरक्षा उत्पन्न भएको रेडियोका स्टेशन म्यानेजर जीवन नेपालीले बताए ।
साथै उक्त कार्यको प्रेस सेन्टर दाङ,प्रेस युनियन दाङलगायत पत्रकारसंग सम्बन्धित संगठनहरुले विज्ञप्ति जारी गरि आपत्ति जनाएका छन् ।
सञ्चार माध्यम र उत्पादित समाचार तथा कार्यक्रममा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने, त्यसमा पनि चित्त नबुझे न्यायालयमा जाने बाटो हुँदाहुँदै सञ्चार माध्यममाथी नै हस्तक्षेप गर्नु निन्दनीय कार्य भएको प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले विज्ञप्ति जारी गरि बताए ।
