तुलसीपुर, मंसिर १९ । तुलसीपुरका रोशनी महतरा र शरद आचार्य मृत्यु प्रकरणमा जिल्ला अदालते पाँच जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
तुलसीपुर– १३ डाँडागाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय शरद आचार्यको असोज २७ गते राति एकै साथ बँदेल मार्न थापेको बिद्युतिय धरापमा परि मृत्यु भएको थियो ।
उनीहरु एकै बिद्यालयमा अध्यनरत थिए । रातिमा एक आपसमा भेट्न निस्केका उनीहरुको जंगली बँदेल मार्न भनेर स्थानीय चार जना मिलेर थापेको बिद्युतिय धरापमा परी एकै साथ ज्यान गुमाएको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
उक्त कार्यमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल,२८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा,४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्की संलग्न रहेको यसअघि नै प्रहरीले जानकारी दिइसकेको थियो ।
उनीहरु चारै जनासहित बिद्युतिय धराप थाप्न सिकाउने स्थानीय हरिबहादुर आचार्यलाई पनि अदालतले मतियारका रुपमा पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार न्याधिस ताराकुमारी शर्माको इजलासले पाँचै जनालाई पूर्पपक्षका लागि थुनामा पठाएको हो ।
जाहेरीवालाको तर्फबाट बरिष्ठ अधिबक्ता रेवतीरमण भट्टराई, अधिबक्ता सञ्तोष पोखरेल र सरकारी वकिल जिल्ला न्यायाधिबक्ता देबराज भारतीले बहस गरेका थिए भने प्रतिबादीको तर्फबाट बरिष्ठ अधिबक्ता द्धय डिल्लीराज धिताल र दीपककुमार रेग्मी तथा अधिबक्ताहरु प्रदीप गौतम र मधुसुदन गौतमले बहस गरेका थिए ।
असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको धरापमा परेर रोशनी र शदरको एकै साथ ज्यान गएको थियो । सुरुमा उल्लेखित चार जनाले असोज २४ गते रातिदेखि नै बँदेल मार्ने उदेश्यले बिद्युतिय धराप थाप्दै आएका थिए ।
उनीहरुलाई बिद्युतिय धराप थाप्न सिकाउने ब्यक्ति हरिबहादुर आचार्य रहेको प्रहरी अनुसन्धानबाट खुलेपछि उनी पक्राउ परेका थिए ।
रोशनी र शरदको शब तुलसीपुर– १३ स्थित जनकल्याण सामुदायिक वनमा एकै ठाउँमा पुरेको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।
बँदेलेका लागि भनेर बिद्युतिय धराप थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर धराप हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि उनीहरुले आपसमा सल्लाह गरी रोशनी र शरदको शवहरु नजिकै झाडीमा लुकाएको तथ्य खुलेको थियो ।
त्यसपछि सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर दुबैको शब बोरामा राखेर चारै जनाले सल्लाह गरि एकै ठाउँमा शब फालेर माटो खनेर पुरेको तथ्य खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका थिए ।
शब गाड्न अमरराज कार्कीको घरबाट फरूवा ल्याएको अनुसन्धानबाट खुलेको थियो ।
शब ब्यबस्थापन पछि उनीहरूले रोशनी र शरदको साथमा रहेका मोवाईल र चप्पलसमेत जंगलको झाडीमा फालेका थिए ।
