२०८२ मङ्सिर १९ गते शुक्रवार

धनुषामा जन्ती बोकेको विंगर दुर्घटना हुँदा ५ जनाको मृत्यु

जनकपुरधाम, मंसिर १७। धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजार चोकमा शनिबार बिहान ५ बजे भएको दुर्घटनामा बा १ ज ८३९६ नम्बरको विंगरमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट गएको जन्ती इटहरीबाट फर्किँदै गर्दा दुर्घटनामा परेको हो। दुइटै गाडी तीब्र गतिमा भएकाले अनियन्त्रित भइ ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए।

`बिहान-बिहानै रोड फ्री थियो। गाडी ओभर स्पिडमा थिए। दुइटै गाडीको लाइट पनि डिम भएर ड्राइभरले देखेनछ,’उनले भने,‘ त्यसैले दुर्घटना भयो।’

प्रहरी निरीक्षक सिंहका अनुसार मृत्यु हुनेमा मुखियापट्टी मुसहरिनिया तुल्सियाहीकी २९ वर्षीया रूवी साह, महोत्तरी पिपरा गाउँपालिका-२ का ११ वर्षीय एस कुमार साह, रामगोपालपुर नगरपालिका ससौलाका दुई दिदी-बहिनी १३ वर्षीया सृजन साह र १८ वर्षीया मञ्जु साह तथा सवारी चालक धनुषाको धनौजी गाउँपालिका-४ का २५ वर्षीय अब्दुल मन्सुर छन्।

एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनालाई प्रादेशिक अस्पताल जनकपुरमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *