तुलसीपुर,मंसिर ११ । कृर्षि सेवा केन्द्रले दिने सेवा सुविधा र उत्पादन भएको बस्तुको बजारीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।
लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत आइतवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १० को आयोजना र ओरेक दाङको समन्वयमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखाका प्रमुख धनराज गौतमले कृर्षि विकास शाखाको हालको सेवा प्रवाह र कृषि बस्तुको बजारीकरणको हालको अवस्थाको बारेमा जानकारी गराए ।
उनले कृषि क्षेत्रमा उत्पादन भएका बस्तुहरु उद्योगका रुपमा रुपान्तरण हुन नसक्दा उत्पादित कच्चा पदार्थहरु उत्पादनमा मात्र सिमित हुन पुगेको बताए ।
उनका अनुसार तुलसीपुरमा अझैपनि ६०.५ प्रतिशत घरपरिवार कृषिमा आश्रित छन । तर ११.५३ प्रतिशत जमिन बाँझो छ ।
उनले तुलसीपुरमा कृषि प्राविधिकको जनशक्ती कमजोर हुदाँ खेती प्रणालीमा सुधार गर्न कठिनाई भैरहेको पनि बताए ।
उनका अनुसार शाखामा हाल ४ सय ८५ कृषक समुह सक्रिय छन भने रासायनिक मलको बिक्रेता ६०,कृषि फर्म घरेलु दर्ता ४५०,कृषि मिटर जडान सिफारिस ४५० छन ।
त्यस्तै कृषि शाखाले प्रत्येक वर्ष कृषकहरुलाई उन्नत बिउ वितरणमा ५० प्रतिशत,श्रोत बिउ उत्पादन कार्यक्रम ल्याउने कृषकलाई ५० प्रतिशत र च्याउ विकास कार्यक्रम गर्ने कृषकलाई पनि ५० प्रतिशत अनुदानमा बिउ वितरण गर्दै आएको छ ।
त्यस्तै प्रमुख गौतमका अनुसार शाखाले गत वर्षमा मात्र १९ वटै वडा भित्र ६ सय ५० प्रतिशत माटोको स्याम्पल जाँच गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० का कार्यबहाक अध्यक्ष ज्ञानबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका शाखाका प्रमुख माया श्रेष्ठ,तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वडा न. १० सचिव कर्ण बहादुर हमालले स्वागत गरेका थिए भने सहजकिरण ओरेक दाङका कार्यक्रम संयोजक कल्पना चौधरीले गरेकी थिइन् ।