तुलसीपुर,कात्तिक २९ । तुलसीपुरमा अपांगता भएका व्यक्तीहरुलाई नमुना मतदान गराइएको छ ।
‘अपांगता मैत्री मतदान,हामी सबैको सम्मान’ भन्ने मुल नाराका साथ राप्ती बहिरा सघं दाङले अपांगता भएका व्यक्तीहरुको निर्वाचनमा पहुँच अभिबृद्धिका लागि नमुना मतदान कार्यक्रम गराएको हो ।
मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बदर कम गर्ने उद्देश्यले अपांगता भएका व्यक्तीहरुलाई नमुना मतदान गराइएको बहिरा सघंका निर्देशक प्रतिमा शर्माले जानकारी दिइन ।
उनका अनुसार नमुना मतदानमा ९३ जनाले मतदान गरेका थिए । त्यस मध्ये १२ मत बदर भएको पाइएको छ ।
नमुना मतदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले निर्वाचनमा मतदान गर्ने अधिकार सबै नागरिकको समान रहेको बताए । उनले प्रत्येक मतदान केन्द्रमा अपांगता भएका व्यक्तीहरुलाई सहजै रुपमा मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउन पहल गर्ने तर्क गरे ।
राप्त बहिरा सघं दाङका अध्यक्ष रिता चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्ल,तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठ लगाएतले अपांगता भएका व्यक्तिहरुलाई आफ्नो मताधिकारको सहज प्रयोग,अपांगतमैत्री संरचना र मत बदर हुन नदिन सावधानी सहित गरिएको नमुना मतदान सराहनीय रहेको उल्लेख गरे ।
नमुना मतदान कार्यक्रममा ह्लिचियर प्रयोगकर्ता, दृष्टिविहिन, शारिरीक अपांगता, बहुअपांगता, न्यून दृष्टिविहिन लगाएत अपांगता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण सघंका कार्यृक्रम संयोजक देवा डाँगीले गरेकी थिइन भने दोभासे स्मृति योगीले गरेकी थिइन ।
