२०८२ मङ्सिर १९ गते शुक्रवार

अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधि नगर्न आयोगको चेतावनी

काठमाण्डौ ,कात्तिक २१ । निर्वाचन आयोगले चुनावको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गरेको छ ।

आज सोमवार कलाकारसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि चुनाव र उम्मेदवारप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्या लगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन ।

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले चुनावरूपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररूपी ढुङ्गा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए ।

उनले अँध्यारो कोठामा बसेर चुनाव बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकलाई उम्मेदवारको सही सूचना दिन अग्रसर हुन सुझाव दिए ।

उनले भने, ‘लोकतन्त्र, चुनाव र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्रहत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्नेकुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन, मिलाउनु हुँदैन । अहिले हामी चुनावको अत्यन्त सुन्दर तलाउमा छौँ । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुङ्गा नहानिदिनुस् भनेको मात्रै हो । नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एन्ड अगेन, इलेक्ट अगेन एन्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर सभ्य भाषामा भन्नुपर्छ । समाजले पचाउने भाषामा भन्नुपर्छ । अहिले उम्मेदवारहरू घरदैलोका क्रममा हुनुहुन्छ, कसैलाई त्यो उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अँध्यारो कोठामा बसेर ढुङ्गा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस् ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले आचारसंहिता कडाइ गरेका कारण चुनावको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजदेखि चुनावको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए ।

उनले चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहितरूपमा सम्पन्न गर्न कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै कलाकारहरूलाई चुनावसम्बन्धी सूचनाहरू प्रचारप्रसार गरिदिन आग्रह पनि गरे ।

प्रकाशित मिति : २०७९ कार्तिक २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *