तुलसीपुर,कात्तिक १६ । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङको तुलसीपुरमा नमुना मतदान गरिएको छ ।
बुधवार जिल्ला निर्वाचन अधिकृतको कार्यालय दाङले बदर मत कम गर्नेे उद्देश्यले मावी तुलसीपुर सेन्टरमा नमुना मतदान गरेको हो । त्यस अवसरमा सामाजिक अभियान्ता नवराज लामिछानेले मतदान गरेर नमुना मतदानको शुभारम्भ गरेका थिए ।
मावी तुलसीपुर सेन्टर मतदान केन्द्रमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल,विद्यार्थी,सरोकारवाला निकायको उपस्थितमा नमुना मतदान भएको जिल्ला निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कंवरले जानकारी दिए ।
उनले विद्यार्थी मार्फत अभिभावकलाई सिकाउन नमुना मतदान गरिएको बताए । उनका अनुसार आज बुधवार निर्वाचन अधिकृतको कार्यालय दाङ क्षेत्र नं. ३ को तुलसीपुर,दंगीशरण,बबई र शान्तिनगरमा नुमना मतदान गरिएको छ ।
निर्वाचनमा प्रयोग हुने निर्वाचन चिह्न बाहेकका चिह्न प्रयोग गरी छापिएको नमुना मतपत्रमा मतदान गरिएको थियो । पहिलो हुने निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा एवं समानुपातिकतर्फको मतपत्रमा मतदान गरिएको हो ।

साथै बिहिवार घोराही र बंगलाचुलीमा र कात्तिक १८ गते लमही,राजपुर,गढवा र राप्ती केन्द्रमा नमुना मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ ।



