दाङ,कात्तिक १४ । जबरजस्ती करणी गरी हत्या प्रयासको आरोपमा प्रहरीले सल्यानमा एक किशोरलाई पक्राउ गरेको छ ।
जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ३ बस्ने २० वर्षीय रेमन्त बुढालाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्लाको कोहलपुर घर भएकी वर्ष १८ की किशोरीलाई विवाह गर्ने प्रलोभन देखाएर कोहलपुरबाट ल्याएर बन्गाड कुपिण्डे नगरपालिका १ माल्पेस्थित जंगलमा लगी शनिबार राति जबरजस्ती करणी गरेर ज्यान मार्ने उद्देश्यले कुटपिटपछि बेहोस बनाई छाडेर आरोपित बुढा भागेको पीडित किशोरीको परिवारले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
कुटपिटबाट किशोरी गम्भिर घाइते भएको र उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
पीडित परिवारले प्रहरीमा जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएपछि प्रहरीले बुढालाई खोज्दै जाने क्रममा रात्रिबसको टिकट काटेर काठमाडौं भाग्ने तयारी गर्दै गर्दा बन्गाड कुपिण्डे नगरपालिका १ सल्लीबजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।
जबरजस्ती करणी गरी ज्यान मार्ने उद्योगको मुद्दा शीर्षकमा जिल्ला अदालत सल्यानबाट म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखिएको उनले जानकारी दिए ।
पीडित किशोरीको अहिले नेपालगन्जमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।