तुलसीपुर, कात्तिक ५ । बबई नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् ।
जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३÷१४ बर्षीया रमा शाह र सल्यान जिल्लाको दामाचौर – १ की १५ बर्षीया गोमा चन्द बगेर बेपत्ता रहेको प्रहरीले जानकारी दिएको छ । सल्यानकी चन्द आफन्तको घरमा गएकी पाहुना हुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा र दंगीशरण–२ गोलटाकुरीमा पर्ने सिमलकुना घाट नजिकै नहाउन गएका तीन बालिका मध्य एक जना भने पौडिएर ज्यान जोगाउन सफल भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।
दिउँसो १ बजेतिर नुहाउन गएका तीन मध्य दुई जना बगेको र हालसम्म अबस्था अज्ञात रहेको डिएसपी मल्लले बताए ।
नुहाउन गएका दुई बालिका बगेर बेपत्ता भएको खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाएर खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय सर्वसाधारण पनि बेपत्ता दुई बालिकाको खोजी कार्यमा लागेका छन् ।
एक साता पहिले मात्रै सितलपुर पुल भन्दा केही माथिबाट बबई नदी तर्ने क्रममा एक जना ब्यक्तिको बगेर मृत्यु भएको थियो ।
